• १ असोज २०८१, मङ्गलबार

अपाङ्गता भएकालाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल कोरियाली सरकारको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोल्नुहुँदै।

काठमाडौँ, भदौ ३१ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार कोरियाली सरकारको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरुले पहल गरिरहेको पनि जानकारी दिनुभयो । घर परिवारले मात्रै उहाँहरुलाई सहयोगीको रुपमा सधैँ काम गर्न सकिने अवस्था नरहेकाले पनि राज्यले स्रोत सुनिश्चित गरेर उनीहरुका लागि सहयोगी उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले अपाङ्गता मैत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको पनि बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य बिमाले मात्रै नपुग्ने भएकाले त्यसमा पनि सरकारले पुनर्विचार गरेर अघि बढ्ने आश्वासनसमेत दिनुभयो ।

मन्त्री पौडेलले सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताउनुभयो ।