काठमाडौँ, भदौ ३० गते । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा असाेज १ देखि ९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । उद्घाटन खेल काठमाडौँ महानगरपालिका र आयोजक २३ वडाबिच हुनेछ ।
आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले आइतबार पत्रकार सम्मेलनमा नेपालमा फुटसलको व्यावसायिक प्रवर्द्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रतियोगितामा करिब ३८४ युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय युवा परिचालन हुनेछन् ।
नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।