• २९ असोज २०८१, मङ्गलबार

विभागले फेला पार्‍यो नक्कली घिउ

blog

फाइल तस्बिर ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । प्रशंसा कलेक्सन एन्ड रिफाइन उद्योगले नक्कली घिउ बिक्रीवितरण गरेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा सो नक्कली घिउ फेला पारेको हो । 

ललितपुरको गोदावरीमा रहेको सो उद्योगले वनस्पति घिउलाई खिया लागेको ड्रममा तताएर राधेकृष्ण ब्रान्डमा जुजु घिउ र अर्चना ब्रान्डमा शुद्ध घिउको नाममा एक लिटर, दुई लिटर र १५० ग्रामको डब्बामा प्याक गरेर नक्कली घिउ बिक्रीवितरण गरेको फेला परेको विभागले जनाएको छ । 

सो कम्पनीले वनस्पति घिउ प्रशोधन, उत्पादन तथा प्याकिङ गर्नका लागि विभागबाट अनुमतिपत्रसमेत नलिएको विभागले जनाएको छ । अनुगमनका क्रममा विभागले एक र दुई लिटरको जुजु घिउ लेखिएको वनस्पति घिउ ७२ डब्बा, १५० ग्रामको शुद्ध घिउ लेखिएको वनस्पति घिउ एक सय डब्बा र सो नक्कली घिउ तयार गर्न राखिएको ८० लिटर वनस्पति घिउ फेला पारेको छ । ती सबै सामग्रीसहित उद्योगमा सिलबन्दी गरिएको विभागले जनाएको छ । 

विभागले टोलीले ललितपुरमै सम्यक बेकरी सटिङ घिउ प्याकेजिङ उद्योग, विन्दवासिनी आयल इन्डस्ट्रिज प्रालि, नन्दबाबा डेरी उद्योग र राज फुड प्रोडक्ट्स खाद्य उद्योगको समेत अनुगमन गरेको छ । सो क्रममा खाद्य स्वच्छता कायम गर्न विभागले आवश्यक निर्देशन दिनुका साथै गुणस्तर परीक्षणका लागि नमुना सङ्कलन कार्यसमेत गरिएको विभागले जनाएको छ ।