• २३ असार २०८१, आइतबार

एकघर एकधाराको खानेपानी योजना अलपत्र

blog

पोखरा क्षेत्रका स्थानीयले घरमा घरमा बनाएका धारा । गत वर्ष नै धारा निर्माण गरिए पनि धारामा पानी भने आउन सकेको छैन । तस्विरः पुष्कर भण्डारी

डडेल्धुरा, वैशाख २८ गते । गत असारमा काम सम्पन्न गर्ने गरी काम शुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ । २०७८ असार २० गते काम सम्पन्न गर्ने गरी २०७६ मंसिर १३ गते योजनाको सम्झौता भएको थियो । तर काम सम्पन्न गर्ने मितिभन्दा झण्डै एक वर्ष बढी हुदाँ सम्म काम सम्पन्न नसक्दा उपभोक्ता मारमा परेका छन् ।

पुराना धाराहरु भत्काएर स्थानीयबासीहरुले घरघरमा नयाँ धारा बनाइसकेका छन् । तर धारामा पानी नआएपछि पानीपिउन पाएका छैनन् । धारामा पानी नआएपछि आजभोलि गाउँघरमा पानीको जोह गर्न स्थानीयलाई समस्या भएको स्थानीय लक्ष्मण पार्कीले बताउनु भयो । अमरगढी नगरपालिका–७ पोखरा तिलाडी क्षेत्रमा एक दर्जन बढी टोलवस्तिलाई लक्षित गरी एकघर एकधारा योजनाको काम सञ्चालन गरिएको थियो । 

करिव रु. तीन करोड ५८ लाख लागतमा एकघर एकधारा खानेपानी योजनाको काम सञ्चालन गरिएको पोखरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष टेक भण्डारीले बताउनुभयो । 

नेपाल सरकारको अनुदान रु. २३ लाख ८१ हजार, अमरगढी नगरपालिकाको रु. ५४ लाख ११ हजार, निजिधारा खर्च रु. ८८ लाख २४ हजार, समुदायको सहयोग रु. ६७ लाख ५३ हजार र फिलनल्याण्ड सरकार र युरोपियन युनियनको अनुदान रु. एक करोड २५ लाख गरी कुल रकम रु. तीन करोड ५८ लाख ७२ हजार अनुमानित लागतमा योजनाको काम सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

उपभोक्ताबाट रु. १२ लाख रकम अग्रिम संकलन गरि २०७६ मङ्सिर १३ गते सम्झौता भएको उपभोक्ता समिति अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अमरगढी–७ कै खालीगाडबाट पानी ल्याई उपभोक्तालाई वितरण गर्ने योजना थियो । 

गत असोज, कात्तिक महिनामा आएको बेमौसमी वर्षाले खानेपानी मुहान, पाइप लाइनमा क्षती पुर्याएपछि काममा ढिलाइ भएको समितिले जानकारी दिएको छ । ग्रामिण जलस्रोत परियोजनाको समयावधी सकिएको र साझेदार संस्था स्थानीय सरकार अमरगढी नगरपालिका र वडा कार्यालयले आवश्यक रकम विनियोजन नगर्दा धारामा पानी छोड्न नसकिएको अध्यक्ष भण्डारीको भनाइ छ । 

Author

पुष्कर भण्डारी