• २९ भदौ २०८१, शनिबार

पाँचथर अस्पतालमा स्क्रब टाइफस र डेंगुका बिरामीको चाप

blog

पाँचथर अस्पतालमा उपचार गर्न आएका बिरामीको पालो पर्खिंदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, भदौ २८ गते । पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् । मौसमी ज्वरो, टाइफाइड र घाँटीको संक्रमण बढेसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप बढेको हाे ।

जिल्लामा स्क्रब टाइफस देखिएको यो पहिलो पटक हो । पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नबिन रेग्मीका अनुसार गत वर्षसम्म पॉचथरमा स्क्रब टाइफसका बिरामी भेटिएका थिएनन् ।

यो वर्ष साउन १ देखि भदौ २५ गतेसम्म ४४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये अधिकांश उपचारपछि घर फर्केपनि ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै यो अवधिमा ३८ जनालाई डेंगुको संक्रमण पुष्टि भएको पनि रेग्मीले बताउनुभयो ।

गत वर्ष जिल्लामा ८ सय ४५ जनालाई डेंगुको संक्रमण पुष्टि भएको थियो । पाँचथर अस्पतालमा दैनिक २ सय हाराहारीमा बिरामी आउने गरेकोमा ४० भन्दा धेरैमा ज्वरो सँग सम्बन्धित समस्या देखिने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।