• २४ पुस २०८१, बुधबार

आगामी आवमा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् : खेलकुदमन्त्री

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी

काठमाडौँ, भदौ २८ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान प्रदान गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २१ वटा मन्त्रालयमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयाई छुट्याइएको भन्दै आगामी आर्थिक वर्षमा थोरैमा १ प्रतिशत बजेट छुट्याइदिन आग्रह गर्नुभयो । उहाँले पाराओलम्पिकमा काँस्य पदक प्राप्त गरेको भए पनि जोगाइरहने चुनौती नेपालसँग रहेको बताउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘‘अहिले हामीसँग ठूलो चुनौतीको रुपमा छ । यो पाराओलम्पिकमा हामी काँस्य पदक प्राप्त गर्न सफल त भयौँ । तर कहिलेसम्म हामी यो कायम राख्न सक्छौँ कि सक्दैनौँ ? नेपाल सरकारले खेलकुदमा सबैभन्दा कम बजेट २१ वटा मन्त्रालयभन्दा सबैभन्दा कम रहेको छ । आगामी वर्षको बजेटमा कम्तीमा १ प्रतिशत बजेट विनियोजन गरिदिन आग्रह गर्दछु ।’’

सम्मान ग्रहण गर्नुहुँदै खेलाडी गोवर्द्धनले सम्मानित हुन पाउँदा धेरै खुशी भएको भन्दै सबैको साथ र सहयोगले मेडल प्राप्त गर्न सफल भएको बताउनुभयो ।