प्रतिकिच्छुक शर्मा
सल्यान, भदौ २८ गते । वर्षाले राप्ती राजमार्ग र दाङ–सुर्खेत सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बिहीबार रातीदेखि परेको वर्षाले राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले सडक माथिबाट ठुलो पहिरो गएको र जेसिबीको सहायताले पहिरो हटाउने कार्य भइरहेको जानकारी दिनुभयो ।
यस्तै, दाङ–सुर्खेत सडक खण्डअन्तर्गत सल्यानको कालिमाटी गाउँपालिका ४ टटेलीमा पहिरोले नै सडक अवरुद्ध भएको छ । उक्त सडक तत्काल सञ्चालन हुने सम्भावना नरहेको प्रहरीको भनाइ छ । निरन्तरको वर्षाले खहरे खोला आउँदा पहिरो गएको स्थानसम्म जेसिबी लिन नै समस्या परेको छ ।