• २५ पुस २०८१, बिहिबार

‘एसियाले विश्व खेलकुदलाई अगुवाइ गरेको छ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २८ गते । एसियाली खेलकुद पत्रकारहरूको छाता सङ्गठन एआइपिएस एसियाको २५ औँ साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । सो साधारण सभाको उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भएको एसियाली खेल पत्रकारहरूको साधारण सभाले खेल पत्रकार मात्र होइन, खेलजगत्लाई नै फाइदा पुग्ने विश्वास लिएको बताउनुभयो । यसै गरी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो प्रतिष्ठित कङ्ग्रेसको आयोजना गर्न पाउनु नेपालका लागि गौरवको विषय हो भन्दै खेल पत्रकारिता ओलम्पिक मुभमेन्टलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने पक्ष रहेको बताउनुभयो । यसै गरी एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले पेरिस ओलम्पिकको उदाहरण दिँदै एसियाले विश्व खेलकुदलाई नै अगुवाइ गरिरहेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले काठमाडौँमा एआइपिएस एसियाको २५ औँ कङ्ग्रेस आयोजना गर्न पाउँदा विशेष खुसी मिलेको र यो डिजिटल युगमा खेलकुद पत्रकारिताको विकसित परिदृश्यबारे छलफल गर्न ३० देशका खेलकुद पत्रकार भेला हुनु प्रेरणादायी रहेको धारणा राख्नुभयो । 

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले एआइपिएस एसिया कङ्ग्रेसमा सहभागी विदेशी खेल पत्रकारलाई नेपालमा स्वागत गर्दै नेपाली खेलकुद पत्रकारिताबारे चर्चा गर्नुभयो ।

खेलकुद पत्रकारको छाता सङ्गठन एआइपिएसको एसियाली क्षेत्रको कङ्ग्रेस जस्ता ठुलो आयोजना पहिलो पटक नेपालमा आयोजना भएको हो । यो कङ्ग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकार सहभागी छन् । 

उद्घाटन सत्रमा एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्ला ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलताले स्पष्ट पारेको छ भन्नुभयो । कङ्ग्रेसको उद्घाटनका अवसरमा नेपालका लागि पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धन, पत्रकार शिवानी थापा, भारत र चीनकी महिला पत्रकार र ई स्पोटर्सकी एसियाकी प्रतिनिधिबिच महिला सशक्तीकरणबारे छलफल भएको थियो ।

नेपाल पर्यटन बोर्डले नेपालका विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, भाषा, संस्कृति, हिमाल, पहाड र देशको भौगोलिक अवस्थाबारे वृत्तचित्र प्रस्तुत गरेको थियो । यसै गरी पछिल्लो समय लोकप्रिय बन्दै आएको ई स्पोर्टसको अवस्थाबारे वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा एआइपिएस एसियाले होटल एसोसिएसन अफ नेपाल (हान) र सिएमआर नेपालसँग पनि सहकार्यका लागि सम्झौता गरेको छ ।