• २९ भदौ २०८१, शनिबार

समीक्षा

रावायण : निकिताको भड्किलो नृत्यको आस

blog

काठमाडौँ, भदौ २८ गते । बितेको वर्ष चलचित्र ‘रावायण’ विवादमा पर्दा नायक अनमोल केसी पक्राउ परेका थिए । ‘आपराधिक विश्वासघात’ सम्बन्धी कसुरमा केसीलाई पक्राउ गरिएको थियो । अभिनेता केसीका कारण चलचित्र निर्माणअघि नै चौपट हुने र खर्च भएको एक करोड पाँच लाख लगानी डुब्ने स्थितिमा पुगेपछि कानुनी उपचार खोजेको बताइएको थियो । 

अहिले चलचित्र ‘रावायण’ प्रदर्शनरत छ । अनमोलको ठाउँमा पल शाहको अभिनय रहेको छ । पूजा शर्मा निर्मित तथा सुदर्शन थापा निर्देशित चलचित्रको कथामा कुनै नयाँ कथा छैन । नेपाल–भारतको सिमानाको गाउँ जबरगन्जमा कान्छा (पल शाह) को हुर्काइ भएको हुन्छ । बुवाको उत्पीडन र आमाको मृत्युले कान्छा हिंसात्मक गुण्डागर्दी बाटोतिर लम्कन्छ र जबरगन्जको डन बन्न पुग्छ । उनलाई केवल हिंसाको बाटो मात्र थाहा छ । चलचित्रमा ट्विस्ट तब आउँछ जब कान्छाले वैहवी (पूजा शर्मा) लाई देख्छन् र एकतर्फी प्रेममा पर्छन् । हिंसाको बाटो अपनाएको एक पात्रले प्रेमका लागि मच्चाएको वितण्डा र प्रेमको रक्षाका लागि अर्को पात्रले गरेको सङ्घर्षको कथा हो चलचित्र ‘रावायण’ । 

चलचित्रमा पल शाह कान्छा र राघवको दोहोरो भूमिकामा देखिएका छन् । जहाँ कान्छालाई वैहवी (पूजा शर्मा) को प्रेमलाई जसरी हुन्छ पाउनु छ र राघवलाई वैहवीबाट टाढा बनाउनु उनको उद्देश्य रहेको हुन्छ । यता वैहवी र राघव पहिला नै प्रेममा परिसकेका हुन्छन् । कान्छाको प्रेममा दरार बनेर आएका राघवलाई हटाउन उनले के कस्ता हत्कण्डा प्रयोग गर्छन् त ? आलम अन्सारी (प्रमोद अग्रहरि) र मुस्लिम महिला (प्रियङ्का कार्की) पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिएका छन् । दुवैले कान्छालाई उनको प्रेम पाउन के कस्तो मद्दत गर्छन् ? चलचित्रको कथा कान्छाको गुण्डागर्दी र उनको प्रेमको सेरोफेरोमा घुमेको छ । पौराणिक कथामा आधारित भनिएको चलचित्र प्रेमकथा र एक्सनले भरिएको छ । चलचित्रले तराईमा हुने गुन्डाराजको कथा बोकेको छ । जहाँ हत्या, हिंसा हुनुलाई कुनै नौलो कुरा मानिँदैन ।

अभिनेता पल शाहका लागि ‘रावायण’ धेरै नै महत्वपूर्ण चलचित्र हो । जेलबाट निस्केपछि उनको यो एकल अभिनेताका रूपमा पहिलो चलचित्र थियो । सधैँ प्रेमिल भूमिकामा देखिने शाह एक्सन प्याक भूमिकामा खासै जम्न सकेका छैनन् । उनलाई धेरै मन पराउने दर्शकसमेत चलचित्रबाट निराश बनेका छन् । नायिका पूजा शर्माको अभिनयमा खासै नयाँ कुरा देखिँदैन । अन्य चलचित्रमा झैँ यसमा पनि उनको अभिनय एउटै ढर्राको छ । उनको संवाद बोल्ने शैलीमा कहिले परिवर्तन हुन सकेन । सधैँ एकैखाले संवादमा नै उनी टिकिरहेकी छिन् । चलचित्रमा मुस्लिम महिलाको भूमिकामा देखिएकी नायिका प्रियङ्का कार्कीको काम के हो ? निर्देशक थापाले प्रस्ट्याउन जरुरी देखिन्छ । उनलाई केवल हिन्दी भाषामा मात्र संवाद बोल्न अभिनय गराइएको हो या नायक पल शाहको रेखदेख गर्ने हिसाबले चलचित्रमा पात्रका रूपमा समावेश गराइएको हो त्यो प्रस्ट हुन जरुरी छ । 

चलचित्रमा अभिनेता प्रमोद अग्रहरिको अभिनयले दर्शकको मन अवश्य जित्छ । उनको संवाद बोल्ने शैलीबाट नै दर्शक प्रभावित हुन्छन् । उनले बोलेको हिन्दी लबजको शैली दमदार छ । उनको खरो शैलीको संवादले धेरैको ध्यान खिच्ने काम गर्छ । शर्मिला मल्ल, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजङ्ग शाही, कैलाश रावलको अभिनयमा खासै नयाँपन छैन । 

प्रेमकथामा आधारित रहेर चलचित्र निर्देशन गर्न माहिर निर्देशक सुदर्शन थापाले ‘रावायण’ बाट खासै बाजी मार्न सक्लान् जस्तो देखिँदैन । उनीभित्र ‘साउथ’ चलचित्रको ‘एक्सन’ को भूत मडारिरहेको देखिन्छ । चलचित्र हेरिसकेपछि निर्देशक थापाले बलिउड र साउथका एक्सन पिक चलचित्र धेरै हेर्न थालेका हुन् कि भन्ने भान हुन्छ । एक्सन चलचित्रमा भन्दा पनि निर्देशक थापाले मायाप्रेम र बिछोडका कथामा नै ध्यान दिँदा ठिक होला कि ? चलचित्रको कथामा खासै तुक नभएकोले पूर्वमिस नेपाल तथा अभिनेतृ निकिता चाण्डकको भड्किलो आइटम डान्सले अवश्य दर्शकको मन भड्किन सक्छ ।