• २५ पुस २०८१, बिहिबार

दमौली अस्पतालमा अपरेशन सुविधा थप

blog

अमरराज नहर्की

तनहुँ, भदौ २७ गते । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा पहिलो पटक बेहोस बनाएर अपरेशन गर्ने सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई बेहोस पार्ने उपकरण र प्रविधि सहयोग गरेपछि सुविधा थप गरिएको दमौली अस्पतालले जनाएको हाे ।

अस्पतालका अनुसार हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य अपरेशन हुन नसकेकामा अब त्यसखालका अपरेशन गर्ने बाटो खुलेको छ । उपकरणको अभावमा मध्यमखालका अपरेशन हुन नसकेकोले एनेस्थेसिया वर्किङ स्टेशन आवश्यक रहेको अस्पतालले बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई उपकरण पठाउने व्यवस्था मिलाउनुभएको हो । 

मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा.परिवर्तन बरालले उपकरण सहयोग गर्न माग राख्नुभएको थियो । लगत्तै मन्त्रालयबाट उपकरण पठाइएको हो ।

अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेशन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने मेसिन १ थान र मोनिटर १ थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिनुभयो । हाल दुई चिकित्सककाे व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका अपरेशन गर्न सक्ने प्रमुख बरालले बताउनुभयो । 

उपकरण प्राप्त भएसँगै पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्डीको अपरेशन सेवा थाल्ने तयारी थालिएको अस्पतालले जनाएको छ । डा. बरालका अनुसार अस्पतालले हालै महिलाको पाठेघर फाल्ने अप्रेसनको सुविधा थपेको छ । सुविधा थपिएपछि तीन जनाले सुविधा लिइसकेका छन् ।