• २५ पुस २०८१, बिहिबार

दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया

blog

शल्यक्रिया गरिएकी बिरामी सुप्नी थारूको अवस्था बुझ्दै चिकित्सक । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, भदौ २७ गते । पश्चिमका तीन प्रदेशका बिरामीले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक जटिल खालको पिट्युटरी ब्रेन ट्युमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो । अस्पतालमा न्युरो सर्जन डा. सुबोध गौतम आएपछि अहिले न्युरोसम्बन्धी जटिल रोगको उपचारसमेत हुन थालेको अस्पतालले जनाएको छ ।

 केही समयअघिसम्म न्युरोसम्बन्धी रोगको उपचारका लागि बिरामीले निजी अस्पताल वा नेपालगन्जबाहिर जानुपर्ने बाध्यता रहेको थियो । भेरी अस्पतालका न्युरोसर्जन डा. सुबोध गौतम र इएनटी सर्जन डा. सगुन श्रेष्ठ नेतृत्वको टोलीले बर्दिया गुलरिया नगरपालिका–१२, भैसाहीकी ५० वर्षीय सुप्नी थारूको दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो । 

उहाँले यस खालको शल्यक्रियालाई मेडिकल साइन्समा दुर्लभ तथा जटिल शल्यक्रिया मानिने जनाउँदै पश्चिम नेपालका सरकारी अस्पतालमा गरिएको यो पहिलो शल्यक्रिया भएको पनि बताउनुभयो । अस्पतालका न्युरो सर्जन डा. गौतमले यस्तो शल्यक्रिया काठमाडौँ उपत्यकाबाहिर बिरलै हुने गरेको जनाउँदै पश्चिम नेपालका सरकारी अस्पतालमा गरिएको यो पहिलो शल्यक्रिया भएको दाबी गर्नुभयो । 

उहाँका अनुसार पिट्युटरी म्याक्रोएडेनोमा ट्युमर दिमागको बिचमा अवस्थित पिट्युटरी ग्रन्थीको एक प्रकारको नफैलिने खालको क्यान्सर हो । यो ट्युमरको आकार बढ्दा यसले वरिपरिका स्नायुतन्त्रमाथि दबाब पार्न सक्छ । जसले गर्दा बिरामीमा दृष्टि धमिलो हुने, टाउको दुख्ने, थकान महसुस हुने, हर्मोनको असन्तुलन हुने र अन्य शारीरिक समस्यासमेत निम्त्याउँछ । अन्ततः आँखाको ज्योति नै गुम्ने खतरासमेत हुन्छ । 

सुप्नी थारूको अवस्था पनि गम्भीर बन्दै गएकाले उहाँको नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको र अहिले बिरामीको अवस्था सामान्य बन्दै गएको डा. गौतमले बताउनुभयो । शल्यक्रिया गरिएपछि थारूको अवस्थामा धेरै सुधार देखिएको उहाँका आफन्त गणेश चौधरीले बताउनुभयो । भेरी अस्पतालका अनुसार सो शल्यक्रियामा एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डे, डा. विशाल, नर्सिङ स्टाफहरू तारा, आशा, करिमलगायतको टोली सहभागी रहेको थियो ।