अमरराज नहर्की
तनहुँ, भदौ २६ गते । पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक बुधबार दिउँसो ४:३० बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।
आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने आँबुखैरेनी गाउँपालिकाको कार्यालय अगाडि को खहरेखोलाको पुलबाट बस खस्दा सो सङ्ख्यामा घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।
पौडेलकाअनुसार मुग्लिनबाट पोखरा जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । पुलको बीच भागमा खाली रहेको ठाउँबाट बस खसेको हो । घाइते सबैको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा बुधबार दुर्घटना हुँदा मोटर साईकलमा सवार चालकको मृत्यु भएको छ । काठमाडौँबाट लमजुङ जाँदै गरेको ग १ ख ७१४५ नं. को बस र विपरित दिशाबाट जादै गरेको बा ९१ प २४५७ नं। को मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक तनहुँको आबुँखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २८ वर्षीय अस्विन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।