• २६ पुस २०८१, शुक्रबार

आफूलाई खुसी राख्नु नै मनोरोगको उपचार

blog

चितवन समाचारदाता

चितवन, भदौ २६ गते । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले एक वर्षमा करिब सत्र हजार मनोरोगका बिरामीको उपचार गरेको छ । 

विश्व आत्महत्या रोकथाम दिवसका अवसर पारेर अस्पतालले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाबाहिर सबैभन्दा धेरै मनोरोगीको उपचार गर्दै आएको अस्पतालका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिनुभयो । हामीले आर्थिक वर्ष २०८०/८१ मा १६ हजार ८३४ जनाको उपचार गरेका छौँ, तीमध्ये ५०९ जनाले अस्पतालमा भर्ना भएर उपचार गराएको प्रमुख देवकोटाले बताउनुभयो । 

अस्पतालमा अहिले पाँच जना विशेषज्ञसहित १४ जनाले मानसिक स्वास्थ्य विभागमा सेवा दिएको छ । अस्पतालका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेले साउन महिनामा मात्रै एक हजार ९८६ जनाले परीक्षण गर्नुभएको छ । हरेक दिन मानसिक रोगी एक सयभन्दा धेरैले ओपिडीबाट सेवा लिँदै आएका छन् । 

मानसिक रोग वृद्धि हुनुका कारण धेरै रहेको अस्पतालका प्राडा सिपी सेढाईंले बताउनुभयो । यही कारण भन्ने हुँदैन तर तनाव, काममा असफल, चिन्ता, रोगको सिकार, आर्थिक सङ्कट, अत्यधिक मादक पदार्थ सेवन, लागुऔषधको कुलतलगायतका कारणले मानसिक समस्या देखिने गर्छ । आफूलाई मानसिक समस्या छ भन्ने समयमा पहिचान हुन नसक्दा आत्महत्या गर्न सक्ने उहाँले बताउनुभयो । 

पत्रकार सम्मेलनमा अस्पातलका मानसिक रोग विशेषज्ञ डा. काफ्लेले गत एक वर्षमा नेपालमा एक लाख ९० हजार मनोरोगी पहिचान भएको थियो । तीमध्ये ४५ प्रतिशत पुरुष र ५५ प्रतिशत महिला रहेका थिए । उहाँका अनुसार गत आवमा प्रहरीले राखेको विवरण अनुसार सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । 

मनोरोग कम गर्न आफूलाई खुसी राख्नुपर्ने प्राडा सेढाईंले बताउनुभयो । मनमा गुम्सेका कुरा अरूसँग खोल्ने, तनाव नलिने, समस्या परे परामर्श लिने, वार्तालाप गर्ने, आफूलाई खुसी राखेर बस्नु नै सबैभन्दा ठुलो उपचार भएको उहाँले बताउनुभयो । महिलाको तुलनामा पुरुषमा आत्महत्याको भावना मनमा आए तत्काल उपचारमा लैजानुपर्ने हुन्छ । महिलामा त्यस्तो भावना आए जोखिम कम हुने, धेरै पटक सोचाइ आए मात्र जोखिम हुने गर्छ । पुरुषले एक पटक सोच आएको भन्ने कुरा बाहिर ल्याएपछि आत्महत्याको प्रयास गर्न सक्ने जोखिम भएकाले यसमा घरपरिवार आफन्तले ध्यान दिनुपर्ने डा. सेढाईंले बताउनुभयो ।