• २६ पुस २०८१, शुक्रबार

क्षयरोगबाट तनहुँमा १४ जनाको मृत्यु

blog

अमरराज नहर्की
तनहुँ, भदौ २६ गते ।
तनहुँमा क्षयरोगबाट एक वर्षको अवधिमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१मा क्षयरोगबाट सङ्क्रमित भएका आठ पुरुष र छ महिला जना महिला गरी सो सङ्ख्यामा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षसम्म तीन सय २६ जना क्षयरोगी रहेको कार्यालयले जनाएको छ । बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेका छन् । कार्यालय अनुसार  व्यास नगरपालिकामा ९६, भानु नगरपालिकामा ४२, म्याग्दे गाउँपालिकामा १६, शुक्लागण्डकी नगरपालिकामा २६, भिमाद नगरपालिकामा २६, घिरिङ गाउँपालिकामा १६, ऋषिङ गाउँपालकामा ११ जना क्षयरोगी छन् ।

त्यस्तै, देवघाट गाउँपालिकामा ३१, बन्दीपुर गाउँपालिकामा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना क्षयरोगी छन् ।

जिल्ला भित्रका एक सय २८ वटा डट्स सेन्टरबाट क्षयरोगीहरुले निःशुल्क औषधी सेवन गरिरहेका छन् । क्षयरोगको औषधी जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा  वितरण भइरहेको छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक हुने जस्ता लक्षणहरु देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् । नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्ने जानकारी दिनुभयो ।