• ११ मंसिर २०८१, मङ्गलबार

मादी नदीमा पुल निर्माण धमाधम

blog

मादी नदीमा बन्दै गरेको पुल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २६ गते ।
नेपालमै पहिलो पटक चार लेनको पुल निर्माणको काम तनहुँमा भइरहेको छ । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिकाको वडा नम्बर ४ को दमौली बजार र वडा नम्बर ५ को चापाघाट जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । यो पृथ्वीराज मार्गको सबैभन्दा लामो पुल पनि हो ।

तीन सय १५ मिटर लामो पुलको ३५ प्रतिशत निर्माण पूरा भएको  मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ ।

यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएको हो । निर्धारित समयमा नै पूरा गर्न धमाधम काम भइरहेको र हालसम्म ३५ प्रतिशत सकिएको ठेकेदार कम्पनीका साइड इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठ अनुसार निर्माणधीन पुलको हाल फाउन्डेसनको काम भई रहेको छ । सात वटा ‘फाउन्डेसन’ को काम गरिएको हो । हाल पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम पूरा गरी पानीमाथि गरिने ‘सुपर स्टक्चर’ काम भइरहेका छन् । हाल रहेको दुइलेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार नेपालमै पहिलो पटक चार लेनको पुल निर्माण भइरहेको र तीन वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । हाल दुई लेनको पुल तीन सय ७० मिटर छ । अब बन्ने पुल भने चार लेनको तीन सय १८ मिटरको हुनेछ । ८१ किलोमिटर लम्बाई रहेको मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो । अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ ।