• २६ पुस २०८१, शुक्रबार

सुक्खा बन्दरगाह निर्माण पैँसट्ठी प्रतिशत सम्पन्न

blog

काठमाडौँ, भदौ २६ गते । रसुवामा निर्माणाधीन रसुवागढी सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६५ प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । 

दुई देशको आयातनिर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम गत वर्षदेखि नियमित रूपमा भइरहेको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दगाह निर्माणको काम ६५ प्रतिशत काम सकिएको बताउँदै बन्दरगाहभित्र गोदाम, पार्किङ स्थल, वेयर हाउस, सडक पहुँच, रिटर्निङवाल लगाउने काम पनि सम्पन्न भएको जानकारी दिनुभयो । 

बन्दरगाह निर्माणको काम तीव्र गतिमा अगाडि बढेकाले आगामी जेठ महिनाभित्र सकिने उहाँले जानकारी दिनुभयो । बन्दरगाहभित्र पाँच तलाको प्रशासनिक भवन बनिरहेकोमा तीन तला तयार भएको समितिले जनाएको छ । प्रशासनिक भवनभित्र क्वारेन्टाइन, भन्सारलगायतका काम हुने छन् । बन्दरगाहभित्र ७४० स्क्वायर फिटको पार्किङ स्थल निर्माण गरिएको छ । जसमा तीन सय वटा ट्रक पार्किङ गर्न सक्ने व्यवस्था रहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । बन्दरगाह निर्माणका काम सन् २०२० नोभेम्बरदेखि सुरु भएको हो । आगामी सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ । 

कोभिडका कारणले लामो समयदेखि रोकिएको काम हाल नियमित रूपमा भइरहेकाले तोकिएको समयमै सक्ने दाबी उहाँले गर्नुभयो । बन्दरगाह निर्माण सम्पन्न भएपछि आयातनिर्यातलाई सहज बनाउने उहाँको भनाइ छ । “नेपाल–चीनबिचको रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,” उहाँले भन्नुभयो । 

रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने छ । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ । बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् । रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विसाखापटनमा हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीहरू बताउँछन् । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म लाग्ने गरेको छ । रसुवा नाकाबाट सामान आउँदा सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ ।