• २६ पुस २०८१, शुक्रबार

सहकारी विशेष समितिको परामर्श ऋण र वास्तविक ऋणमाथि प्रश्न

blog

काठमाडौँ, भदौ २६ गते । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको लेखा परीक्षणमा संलग्न चार्टर्ड एकाउन्टेन्ट (सिए) सँग परामर्श र छलफल गरेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानबिन गरिरहेको विशेष समितिले मङ्गलबार उहाँहरूसँग छलफल गरेको हो । 

समितिले सहकारी विभागका पूर्वरजिस्ट्रार र बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका पूर्वप्रमुखसँग दर्ता, नियमन, कार्यक्षेत्र र सेवाकेन्द्र विस्तारसहित सहकारी समस्याका सन्दर्भमा छलफल गरेको छ । छलफलमा गोरखा मिडिया नेटवर्क प्रालिका विशेषविभु आचार्य, सुप्रिम सहकारी बुटवल, सूर्यदर्शन पोखरा र सहारा सहकारी चितवनका सागर भण्डारी, कान्तिपुर सेभिङ एन्ड क्रेडिटका विकल पौडेल, गौतमश्री सहकारी कुलेश्वरका दामोदर बस्ताकोटी, लालीगुराँस सहकारी पुल्चोकका दीपक ज्ञवाली, यमुना आइडल हाम्रो बहुउद्देश्यीय सहकारीका प्राइम श्रेष्ठ र पुल्चोकस्थित सुमेरु सहकारीका भरत सुवेदीसँग समितिले परामर्श गरेको हो । 

प्रदेशका पूर्वरजिस्ट्रारमा झलकराम अधिकारी, लीलाप्रसाद शर्मा, शिवकुमार कार्की, नारायण ज्ञवाली र विक्रमप्रसाद पाण्डे सहभागी हुनुहुन्थ्यो । त्यसै गरी विभिन्न सहकारीका ऋणीको अनुभवकेन्द्रित परामर्श पनि समितिले गरेको छ । छलफलमा रामकृष्ण ढकाल, सागर बगाले, कुन्दन अर्याल, सुरेश आचार्य, अनन्तकान्त मैनाली र विदुर धमला सहभागी हुनुहुन्थ्यो । 

सभापति थापाले सहकारीले ऋण, धितो लिलाम र अन्य प्रक्रिया अपनाउँदा के गरिरहेका छन् भन्ने जानकारी लिने सन्दर्भमा महत्वपूर्ण सुझाव आएको बताउनुभयो । उहाँले सहकारीले देखाउने ऋण वास्तविक ऋणका रूपमा कति हो वा होइन भन्ने प्रश्न पनि खडा भएको बताउनुभयो । उहाँले ऋणी भनिएका व्यक्ति स्वयं पनि सहकारीपीडित रहेको अवस्था छलफलमा पाइएको जानकारी दिनुभयो ।