• १८ पुस २०८१, बिहिबार

‘संसदमा प्रश्न उठेपछि उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ’

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटा

काठमाडौँ, भदौ २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले उपसभामुखमाथि संसदमा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा उहाँले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको विषयमा सदनमा पटक–पटक प्रश्न उठेकाले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउनुभयो ।

सांसद बाँस्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजनीतिकर्मीमा त्यत्तिको साहस हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “राजीनामा गरेर छानबिनमा सहयोग गरेमा के फरक पर्छ ? प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन । व्यक्तिको पदीय दायित्व र आचरणमाथि प्रश्न उठिसकेपछि त्यसलाई गलत प्रमाणित गर्न सक्नुपर्छ, सबैका निम्ति पारदर्शिता अपनाउन राजीनामा दिएर सहयोग गरे उपयुक्त हुन्छ ।”

सांसद बाँस्कोटाले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा’ पूरा गर्ने दिशामा अगाडि बढेको भन्दै उहाँले आत्मनिर्भर अर्थतन्त्र, कृषिको आधुनिकीकरण र औद्योगिकीकरण प्राथमिकतामा रहेका बताउनुभयो । साथै उहाँले नीतिगत सुधारका माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । रासस