• २ माघ २०८१, बुधबार

साढे तेह्र करोडको तरकारी बिक्री

blog

लालबन्दी तरकारी बजारमा किसान र व्यापारीबिच तरकारी किनबेच हुँदै । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, भदौ २५ गते । सर्लाहीको लालबन्दी थोक तरकारी बजारबाट एक महिनामा साढे १३ करोड रुपियाँको तरकारी बिक्री भएको छ । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार साउनमा यहाँबाट १३ करोड ५५ लाख ३७ हजार ९५० रुपियाँको तरकारी देशका विभिन्न सहरमा पुगको हो । 

लालबन्दी बजारमा लालबन्दीसहित छिमेकी हरिवन, ईश्वरपुर, चन्द्रनगर, हरिपुर, बागमतीलगायत पालिका तथा महोत्तरीको बर्दीबास र गौशाला नगरपालिकाका किसानले तरकारी बिक्री गर्छन् । साउन महिनामा सबैभन्दा धेरै परबर चार करोड ७६ लाख ९० हजार रुपियाँ र बोडी दुई करोड नौ लाख ९७ हजार रुपियाँको बिक्री भएको छ । त्यस्तै भिन्डी एक करोड ६२ लाख ४१ हजार पाँच रुपियाँ, झिङ्गनी एक करोड दुई लाख ७८ हजार, लौका ८४ लाख १२ हजार ९५० रुपियाँ र काँक्रो ५० लाख ९६ हजार २५० रुपियाँको बिक्री भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । 

यहाँको तरकारी मुख्य गरी काठमाडौँ, नारायणगढ, पोखरा, सिन्धुलीलगायतका विभिन्न बजारमा जाने गरेको समितिका अध्यक्ष शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

यसबाहेक भारतबाट आएका व्यापारीले समेत दैनिक ३५/४० वटा मोटरसाइकलमा तरकारी लगेर भारतीय सीमावर्ती बजारमा बेच्ने गरेका छन् ।