• १० मंसिर २०८१, सोमबार

कर्णाली प्रतिष्ठानमा नेत्ररोग विशेषज्ञ सेवा सुरु

blog

कर्णाली प्रतिष्ठानमा आँखा विभागको उद्घाटन। तस्बिरः नेत्र शाही।

नेत्र शाही 

जुम्ला, भदौ २४ गते।  कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नेत्ररोग विशेषज्ञ सेवा सुरु भएको छ।  डा. सन्दुक रुइतले सेवाको प्रारम्भ गर्दै नेत्ररोग विभागको उद्घाटन गर्नुभएको हो।  

उहाँले एक वर्ष अघि प्रतिष्ठानसँग भएको सम्झौता अनुसार कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा तिलगंगाले गर्ने आवश्यक सहयोगसहित सेवा सुरु भएको जानकारी दिनुभयो।  आँखाको सेवामा विश्वप्रसिद्ध डा. सन्दुक रुइतले कर्णाली प्रतिष्ठानका उच्च तहमा अध्ययनरत विद्यार्थीलाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताले राम्रो प्रतिनिधित्व गर्ने भएकाले यहीबाटै देशमा सेवा दिने बताउनुभयो।  उहाँले मेडिकल सेवामा जिज्ञासा र भावनालाई ध्यान दिने हो भने काम गर्न सकिने बताउनुभयो।  

डा. रुइतले तिलगङ्गाको सहकार्यमा कर्णालीका कुना कन्दरामा एक वर्षभित्र दुई हजारभन्दा बढी व्यक्तिको मोतियाबिन्दुको शल्यक्रिया गरिने  प्रतिबद्धता जनाउनुभयो।  उहाँले कर्णाली प्रतिष्ठान सँगैको सहकार्यमा काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो।  उहाँका अनुसार काम गर्ने क्रममा विभिन्न प्रकारका चुनौती आउने भए पनि अवसरमा ढाल्न आवश्यक रहेको बताउनुभयो।  

कर्णाली प्रतिष्ठानमा आँखा विभाग उद्घाटन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विक्षाले कर्णाली प्रतिष्ठानलाई यस वर्ष ५५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो।