• ११ मंसिर २०८१, मङ्गलबार

यसपालि सभापतिमै चुनाव लड्नुपर्ला : सांसद कोइराला

blog

नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइराला विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, भदौ २४ गते । नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कोइरालाले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताउनुभयो । उहाँले बिपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताउनुभयो ।

उहाँले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताउनुभयो । उहाँले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा बिपीले जोड दिनुभएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताउनुभयो ।

‘‘बिपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटी त चुनाव जितेँ । त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले बिपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ ।,’’ सांसद कोइरालाले भन्नुभयो, ‘‘त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दाखेरी कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आदर, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने अरुहरुमा त्रुटि देख्छु । त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।’’

सांसद कोइरालाले बिपी व्यक्तिभन्दा पनि एउटा विचार भएको उल्लेख गर्नुभयो ।