• २३ भदौ २०८१, आइतबार

'सहिदको सम्मानको लागी मधेश सरकार प्रतिबद्ध छ'

blog

सहिद रामकृष्ण राउतको नवौं स्मृति सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिश कुमार सिंह । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी, भदौ २३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस आन्दोलनका सहिदहरूको सम्मानको लागी मधेस सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठान नेपालद्वारा सप्तरीको भारदहमा आइतबार सहिद रामकृष्ण राउतको नवौँ स्मृति सभालाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो । 

सो अवसरमा मुख्यमन्त्री सिंहले सहिदहरूको बलिदानबाट मधेश प्रदेश लगायतको सङ्घीयता स्थापना भएको बताउनु हुँदै मधेशी जनताको अधिकार सुनिश्चित भएको बताउनुभयो। मुख्यमन्त्री सिंहले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सङ्घीयता सङ्कटमा परेकोले थप अधिकार प्राप्तिको लागि सहिदहरूले देखाएको दिशालाई आत्मसात् गर्दै सङ्घर्षको विकल्प नरहेको बताउनुभयो । 

मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेका रामकृष्ण राउत लगायतका मधेश आन्दोलनका वीर सहिदहरूको स्मरण गर्नुहुँदै मुख्यमन्त्री सिंहले राज्यको विभेदकारी नीति र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि वीरगति प्राप्त गर्नु भएका परिवारप्रति सरकार अति संवेदनशील रहेको बताउनुभयो । 

देश र जनताको लागि जीवन समर्पण गर्ने सहिद रामकृष्ण राउतको स्मृतिमा वार्षिक कार्यक्रम आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुहुँदै मुख्यमन्त्री सिंहले प्रतिष्ठानको विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

सहिद परिवारलाई सीप मूलक तथा रोजगारमा जोड्ने बताउनुहुँदै उहाँले सहिदको स्मरणका लागि भारदह अस्पतालको नाम सहिद रामकृष्ण राउत, राजीव राउत अस्पताल नामाङ्ककरण गर्ने तथा स्मारक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष राज कुमार राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रम हनुमान नगर कंकालीनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, वडाध्यक्ष सुरेन्द्र मण्डल, लक्ष्मी व्यापार सङ्घ भारदहका अध्यक्ष कुन्दन मण्डल, पूर्व गाविस अध्यक्ष पवन कुमार मण्डल, लगायतकाले सहिदको सम्मानमा स्मारक निर्माणमा जोड दिनुभयो ।