• २३ भदौ २०८१, आइतबार

पाथीभरा केबुलकारको समर्थनमा मोटरसाइकल र्‍याली

blog

केबुलकार परियोजनाको समर्थनमा सदरमुकाम फुङ्लिङमा निकालिएको मोटरसाइकल र्‍याली। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २३ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको समर्थनमा फुङ्लिङमा मोटरसाइकल र्‍याली निकालिएको छ। विकासप्रेमी तथा सचेत युवा समूहको नाममा आइतबार सदरमुकाम फुङ्लिङमा र्‍याली निकालिएको हो।

केबलकार परियोजनाको प्रक्रिया सुरु भएदेखि नै विरोध हुँदै आएको र विरोधका कारण अहिलेसम्म काम थाल्नमा अवरोध पुगिरहेको बेला स्थानीय युवा जमातले स्वतःस्फूर्त रुपमा केबलकारको समर्थनमा र्‍याली निकालेका हुन्। फुङ्लिङस्थित नयाँ बसपार्कबाट सुरु भएको मोटरसाइकल र्‍याली बजार परिक्रमा गरी सुकेटार पुगेर पुनः बजार फर्किएर अन्त्य भएको थियो।

जिल्लाको एक महत्वपूर्ण परियोजना केबलकार भएको भन्दै निर्माण पक्षलाई काम थाल्न र परियोजनाको विरोध गर्दै आएको समूहलाई काम वा विकासमा अवरोध नगर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्‍याली निकालेको युवाहरुले जनाएका छन्। यस्तै विकास परियोजनामा जिल्लाका युवाहरुको साथ रहेको सन्देश प्रवाह गर्न पनि र्‍याली निकालेको उनीहरुको भनाइ छ।

मोटरसाइकल र्‍यालीमा करिव दुईसय ५० भन्दा बढी युवाको सहभागिता थियो।  र्‍यालीमा नेपाली काँग्रेस निकट नेपाल तरुण दल, नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपाल, नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपालमा आबद्ध र अन्य युवाहरु सहभागी भएका थिए। जिल्लामा भित्रिएको विकास परियोजनामा अवरोध पुर्‍याउनु दुःखद भएको बताउँदै वार्ता र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा पनि युवाहरुले जोड दिएका छन्।

यता केबलकार परियोजनाको विरोध गर्दै आएको समूह मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति र पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतले सोमबारदेखि पाथीभरा सडकमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका छन्। केबलकार परियोजनाको निर्माण अनुमति खारेजीको माग गर्दै उक्त दुई सङ्घर्ष समिति विभिन्न छ वटा समूहले संयुक्त विज्ञप्ति जारी गर्दै यातायात बन्द आह्वान गरेका हुन्। 

केबलकार निर्माण अनुमति खारेज नभएसम्मका लागि सदरमुकाम फुङ्लिङ बजारदेखि काफ्लेपाटीसम्मको पाथीभरा सडकमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ। उता केबलकार परियोजनाको विरोध गर्दै आएका समूहले यातायात बन्द आह्वान गरेपछि फुङ्लिङ नगरपालिकाले नगरपालिकाभित्र कुनै पनि राजनीतिक दल, सङ्घ संस्था तथा अन्य समूहका नाममा यातायात र शिक्षण संस्था बन्द गर्न नपाउने निर्णय गरेको छ।

गएको शुक्रबारदेखि नै लागू हुनेगरी नगरपालिकाले कार्यपालिकाको बैठक बसी उक्त निर्णय गरेको जनाएको छ। दसैँ तिहारजस्ता चाडपर्व नजिकिएको र पाथीभरा दर्शनको मौसम सुरु भई सकेकाले यातायातसहितका बन्द, हड्ताल नगर्न सबै पक्षलाई नगरपालिकाले आग्रहसमेत गरेको छ।

पाथीभरामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो। प्रालिले केबलकार परियोजनाको प्रक्रिया सुरु गरेदेखि नै आदिवासी जनजाति लिम्बू समुदायको धार्मिक मुन्धुमीस्थल मािथ अतिक्रमण गर्न लागिएको भन्दै विभिन्न सङ्घर्ष समिति गठन निर्माण गरी विरोध गर्न थालिएको हो।

परियोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहितका प्रक्रिया पुरा भई रुख कटानसमेत भइसक्दा पनि विरोधकै कारण निर्माणको काम सुरु गर्नमा अवरोध पुग्दै आएको छ। विरोध गर्दै आएको पक्षले शनिबार मात्र पाथीभरा धाम परिसरमै पत्रकार सम्मेलन गर्दै कुनै पनि हालतमा केबलकार निर्माण गर्न नदिने अडान दोहोर्‍याएका छन्।