• २३ भदौ २०८१, आइतबार

धारिलो हतियार प्रहारबाट दुई घाइते

blog

साङ्केतिक तस्बिर ।

अविनाश चौधरी

धनगढी, भदौ २३ गते । धारिलो हतियार प्रहारबाट कैलालीमा दुई मजदुर घाइते भएका छन् । ना ६ ख १४०६ नम्बरका ट्याङ्कर चालक डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बस्ने वर्ष २४ का हरेन्द्र देउवा र सहचालक गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवा घाइते भएका हुन् । 

शनिबार राति मोटरसाइकलमा आएका व्यक्तिले धनगढी उपमहानगरपालिका–२ स्थित रोड हाउस क्याफे नजिक उनीहरूमाथि आक्रमण गरेका थिए । 

आक्रमणबाट चालक, सहचालक दुवैको हात, खुट्टा, नाडीमा चोट लागेको छ । घाइते दुवैको मायामेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

प्रहरीले सर्वप्रथम विवाद उत्पन्न गराउने दुई जना ट्याङ्कर सहचालकसहित कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहचालकहरू डोटीको जोरायल गाउँपालिका–१ का १८ वर्षीय विक्रम मल्ल र सिलगढी नगरपालिका–३ का १९ वर्षीय अरुण बोगटी रहेका छन् । 

यसैगरी, कुटपिटमा संलग्न धनगढी उपमहानगरपालिका–२ बस्ने १६ वर्षका डोरेमन भन्ने पुष्कर धामी पनि पक्राउ परेका छन् । कुटपिटमा संलग्न धनगढीको सन्तोषी टोलकै वर्ष २३ का मुस्कान सिंह भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । फरार व्यक्तिको खोजीकार्य भइरहेको जनाइएको छ।