• २३ भदौ २०८१, आइतबार

‘सहकारीपीडितको आन्दोलनप्रति कटाक्ष नगर्नू’

blog

काठमाडौँ, भदौ २३ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई सहकारीपीडितसँग वार्ता गरी समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण गराएको छ ।

सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार समितिको ५३ औँ बैठकमा बोलाएर सहकारीमन्त्री अधिकारीलाई बचतकर्ताको भावनामा चोट पुग्ने गरी पीडितको आन्दोलन, रिले अनशन र धर्नाप्रति नकारात्मक टिप्पणी नगर्न निर्देशन दिइएको हो । उहाँले सहकारीपीडितको आन्दोलनका सन्दर्भमा कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न पनि मन्त्री अधिकारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो । मन्त्री अधिकारीले सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवसमा बोल्दै ‘बैङ्कबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरू आन्दोलित भएको’ अभिव्यक्ति दिनुभएको थियो । 

सभापति थापाले आन्दोलनकारीलाई संसदीय छानबिन विशेष समितिमा पीडितको प्रतिनिधिमण्डलसँग भएको चार घण्टा लामो छलफलको मर्म र इमानदार प्रयासलाई विश्वास एवं भरोसा गर्नसमेत अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार समितिले सहकारी मन्त्रालय र सम्बद्ध निकायका जिम्मेवार व्यक्तिसँग प्रतिवेदनकेन्द्रित अन्तिम सुझाव अविलम्ब लिखित रूपमा उपलब्ध गराउन निर्देश गरेको छ ।