• २२ भदौ २०८१, शनिबार

सतहत्तर वर्षमा पूरा भयो रहर

blog

कृति विमोचन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीलगायत । तस्बिर : गोरखापत्र

रमेश पौडेल

पोखरा, भदौ २२ गते । सतहत्तर वर्षकी आमाले रचना गर्नुभएको ‘जिन्दगीका पानाहरु’ पुस्तकको शनिबार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण भएको छ । पोखरा ३२ सातमुहाने देउराली निवासी बिमला अधिकारीले सिर्जना गर्नुभएको उक्त कृतिको विमोचन भएको हो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीले सो कृतिको विमोचन गर्नुहुँदैे पुस्तक आमाहरुको जीवनका भोगाइ र अनुभवहरुको संगालो भएको बताउनुभयो । सो कृतिले पछिल्लो पिंढीलाई विगत बुझ्न सहयोग गर्ने उहाँको भनाइ थियो । कुलपति खड्काले तीज पर्वलाई सिर्जनासँग जोड्ने भएकाले यो कृति विशेष भएको भन्दै सर्जक अधिकारीलाई बधाई दिनुभयो ।   

सन् २००५ सालमा जन्मनुभएकी अधिकारीले ग्रामीण महिलाहरु शिक्षाको पहुँचभन्दा बाहिर भएको समयमा पनि नौ कक्षासम्मको अध्ययन गर्नुभएको थियो । पढ्ने रहर हुँदाहुँदै पनि थप शिक्षा आर्जन गर्न नसकेको उहाँले बताउनुभयो । उहाँको सिर्जनात्मक रहर भने अहिले आएर पूरा गर्नुभएको छ ।

उहाँको कृतिमा महिला अधिकार, वातावरण, समाज, नीति र विधिका साथै आफ्ना भोगाइहरु समेटिएका छन् ।  सो कार्यक्रममा बोल्दै गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाले आमाको कृति सबैका लागि पे्ररणादायी भएको बताउनुभयो ।

त्यसैगरी उहाँका छोरा शालिकराम अधिकारीले आमाको संस्कारले नै परिवार सफल भएको बताउनुभयो । कार्यक्रममा सूर्यभक्त सिग्देल, घनश्याम भण्डारी, नरेन्द्र पौडेल, विजय सुवेदी, गोविन्द पौडेल, बाबुराम सुवेदी, राजेन्द्र ओझा, बिष्णु अधिकारी, सविना भण्डारी, ईशा पौडेल, लोकराज अधिकारी, युवराज त्रिपाठी, कृति लामिछानेलगायतका स्रष्टा एवम् परिवारका सदस्यले आमा र कृतिका बारेमा बोल्नुभएको थियो । सो कृति उहाँको परिवारद्वारा प्रकाशन गरिएको हो ।