• २२ भदौ २०८१, शनिबार

मेवाखोलामा पुल बनेपछि दुर्गमका बासिन्दालाई राहत

blog

मेवा डेभलपर्स लिमिटेडले मेवा खोलामा निर्माण गरेको मोटर गुड्ने पुल (बेलिब्रिज) । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २२ गते । 
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित मेवा खोलामा मोटर गुड्ने पुल (बेलिब्रिज) बनेपछि दुर्गमका बासिन्दालाई राहत मिलेको छ । मेवा डेभलपर्स लिमिटेडले मिक्वाखोला गाउँपालिकाको वडा ४ साँवा र वडा ३ पापुङ जोड्ने मेवा खोलामा पुल निर्माण गरेपछि स्थानीय बासिन्दालाई राहत पुगेको हो ।

पापुङ जिल्लाकै एक दुर्गम हिमाली क्षेत्र पर्दछ । केही वर्ष अघिदेखि नै साँवाका बासिन्दाले भने यातायात सुविधा पाउँदै आएका भए पनि मेवा खोलामा मोटरेबल पुल नहुँदा पापुङका बासिन्दाले नियमित यातायात सुविधा पाउन सकेका थिएनन् । मेवा डेभलपर्स लिमिटेडले कम्पनीको प्रयोजनका लागि पुल निर्माण गरेपछि दुर्गम पापुङका बासिन्दालाई सुविधा भएको हो ।

मेवा खोलामा मोटर गुड्ने (मोटरेबल) नहुँदा हालसम्म पापुङवासी यातायात सुविधाबाट वञ्चित रहँदै आएका थिए । अब भने जलविद्युत आयोजनाले पुल निर्माण गरेपछि पापुङवासीका लागि यातायात सुविधा मिलेको वडाध्यक्ष ग्यान्जे शेर्पाले बताउनुभयो । वडाध्यक्ष शेर्पाका अनुसार हिउँदयाममा खोलामा पानी घटेका बेला केही महिनासम्म मात्र यातायात सञ्चालन हुने गरेको थियो ।

बर्खायाम सुरु भएपछि पुलको अभावमा यातायात सेवा ठप्प हुने गर्दथ्यो । यातायात सेवा ठप्प हुँदा पापुङका बासिन्दाले दैनिक उपभोग्य वस्तुलगायत आवश्यक सामग्री याक र चौँरीलाई बोकाएर साथै भरियामार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । पुल बनेपछि पापुङ गाउँबस्तीसम्म नै यातायातका साधनमार्फत आवश्यक वस्तु ढुवानी र यात्रा गर्ने सुविधा प्राप्त भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

मेवा खोलामा पुल निर्माण हुनुभन्दा अघिसम्म पापुङका बासिन्दाले सदरमुकाम फुङ्लिङ हुँदै जिल्ला बाहिर यात्रा गर्नुपर्दा साँवाको तेम्बासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । साँवाको तेम्बासम्म केही वर्ष अघिदेखि यातायात सुविधा पुगेकाले पापुङवासीले तेम्बासम्म पुगेर मात्र यातायात सुविधा उपभोग गर्न पाउने गरेका थिए । यातायातका साधानमार्फत सामान ढुवानी पनि तेम्बासम्म गर्ने गरेका थिए ।

मेवा डेभलपर्स लिमिटेडले ३६.५८ मिटर लम्बाई रहेको बेलिब्रिज निर्माण गरेको छ । उक्त पुल करिब तीन करोड रुपियाँको लागतमा निर्माण भएको मध्यमेवा जलविद्युत आयोजनाका वरिष्ठ प्रबन्धक सुनील रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार आयोजनाको प्रयोजनका लागि पुल निर्माण गरिएको हो ।

प्रवर्धक कम्पनीका रूपमा रहेको मेवा डेभलपर्स लिमिटेडले उक्त क्षेत्रमा ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत आयोजना र ९.३ मेगावाट क्षमताको सिवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म मध्यमेवाको प्रगति ७५ प्रतिशतभन्दा बढी भइसकेको छ भने सिवा खोला आयोजनाको काम प्रारम्भिक चरणमा रहेको वरिष्ठ प्रबन्धक रेग्मीले जानकारी दिनुभयो ।