• २ माघ २०८१, बुधबार

मनाइयो गुँला पर्व

blog

काठमाडौँ, भदौ २१ गते । नेवार समुदायले चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना गुँला पर्वमा बाजागाजाका साथ स्वयम्भूमा भोज (पारु भ्वय्) खाएर सम्पन्न गरिएको छ । 

एक महिना मनाइने गुँला पर्वमा अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । नेपाल संवत् अनुसार दसौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको बताउँदै विशेष गरी बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका बताउनुभयो । 

गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत समापन गरिन्छ । यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, बिहार, गुम्बा, स्तूपलगायत धार्मिक स्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भिड लाग्छ । यस अवसरमा काठमाडौँ उपत्यका विभिन्न थरी बाजाले गुञ्जायमान हुने गर्छ ।

गुँला पर्वमा बौद्धमार्गी विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो डा. वज्राचार्यले भन्नुभयो, “यो बाजा राँगा वा अर्नाको सिङबाट निर्माण गरिएको हुन्छ ।” पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने उहाँले प्रस्ट पार्नुभयो । 

“यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नु पर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नु पर्छ भन्ने नियम छ,” वज्राचार्यले भन्नुभयो । पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, झुटो कुरा नगर्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन् ।

पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिन्छ । 

यो महिनामा क्षमता अनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् । ठमेलमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका प्रदर्शन गरिने गुँला पर्वका अवसरमा विभिन्न बौद्ध बिहारमा दीपङ्कर बुद्ध तथा बुद्धका अन्य सामग्री प्रदर्शन गरिएको थियो ।