• २ माघ २०८१, बुधबार

वाईसिएल अध्यक्षमाथि जबरजस्ती करणीको आरोप

blog

प्रहरीको खोजीमा रहेका वाईसिएल अध्यक्ष राजबहादुर बुढा । तस्बिर : आरोपित बुढाको फेसबुकबाट ।

प्रेमराज सिम्खडा

कालीकोट, भदौ २० गते । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएल नेपाल कालीकोटका अध्यक्षले एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । जिल्लाको पलाँता गाउँपालिका-१ पुलाहका २९ वर्षीय राजबहादुर बुढाले एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उहाँको नाममा पक्राउ पुर्जी जारी भएको हो । 

बुढाले पलाँता गाउँपालिका-१ मा गत २०८० फागुन ५ गते राति जबरजस्ती करणी गरेको र गर्भ बसेपछि गर्भपतन पनि गराएको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले भदौ ७ गते जिल्ला अदालतलाई पत्र लेख्दै सोही पालिका निवासी २० वर्षीय महिलाको जाहेरीका आधारमा बुढालाई तत्काल पक्राउ गर्नुपर्ने भएकाले अनुमति मागेको पत्रमा उल्लेख छ । 

प्रहरीले अनुमति मागेपछि जिल्ला अदालत कालीकोटले राजबहादुर बुढाको नाममा पक्राउ पुर्जी जारी गरेर खोजी जारी राखेको छ । पीडित महिलाले आफूमाथि मिति २०८० साल फागुन ५ गते राति करणी भएको भए पनि आफूलाई जाहेरी दिनबाट राेकिएकाले थप पिडामा रहेको उल्लेख गरेको प्रहरीले जनाएको छ । 

पीडित महिलाले जबरजस्ती करणीका कारणले आफ्नो पेटमा गर्भसमेत बसेको र गर्भपतन गर्न लगाएको जाहेरीमा उल्लेख गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाले भदौ ६ गते जाहेरी आएको पुष्टि गर्नुभएको हो । 

भदौ ७ गते पक्राउका लागि अदालतसँग अनुमति मागेर प्रहरीले बुढाको खोजी जारी राखेको छ । आरोपित बुढाको हुलियासहित सबै प्रहरी युनिटमा पत्राचार भएको भए पनि अहिलेसम्म फेला नपरेको उहाँले बताउनुभयो । जाहेरीपछि पीडित राजबहादुर बुढा फरार छन् । 

पीडित महिला अहिले एक सामाजिक संस्थाको आश्रयमा छन् । उता पीडित महिलाका घरपरिवारलाई जाहेरी फिर्ता लिन र अदालतमै भए पनि बयान बदल्न दबाब दिएको गुनासो समेत आएको छ । एक स्थानीयले पीडित महिलालाई मानसिक दबाब दिने काम भइरहेकोसमेत बताउनुभयो । 

यता पालाँता गाउँपालिका अध्यक्षले समेत पीडित महिलालाई नाम सार्वजनिक नगर्न फकाएका छन् ।