• १० मंसिर २०८१, सोमबार

एमाले बलियो शक्तिको रुपमा आउँछ : महासचिव पोखरेल

blog

सुर्खेत विमानस्थलमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेल ।

नविन सुवेदी

सुर्खेत, भदौ २० गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताउनुभएको छ । 

लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै उहाँले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताउनुभयो । बिहीबार सुर्खेत विमानस्थलमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आफूहरूको आशय दुईदलीय व्यवस्था नभ फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको जानकारी दिनुभयो । 

राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने उहाँको भनाइ थियो । तर कांग्रेस–एमालेले दुईदलीय व्यवस्थाको वकालत नगरेको उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले युवामा निकै निराशावाद पलाएको र ती युवालाई तत्काल राज्यले रोजगारी दिने अवस्थासमेत नरहेको बताउनुभयो । 

उहाँले एमाले–कांग्रेसकाे सरकार बनेपछि राजस्व वृद्धि हुन थालेको दाबी गर्नुभयो । साथै उहाँले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको आरोप लगाउनुभयो । ‘प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन’ उहाँले भन्नुभयो, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’