• १० मंसिर २०८१, सोमबार

झाडापखाला बिरामीका लागि छुट्टै उपचार वार्ड

blog

झाडापखालाका बिरामीलाई उपचार गर्न भेरी अस्पतालले सञ्चालनमा ल्याएको वार्ड । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, भदौ २० गते ।
नेपालगन्जस्थित भेरी अस्पतालमा झाडापखालाका बिरामीहरुलाई उपचारका लागि छुट्टै वार्ड व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ ।

पछिल्ला दिनहरुमा झाडापखालाका बिरामीहरु उपचारका लागि अस्पतालमा आउने क्रम बढेसँगै छुट्टै वार्ड व्यवस्थापन गरेर उपचार गर्न लागिएको भेरी अस्पतलाका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालले जानकारी दिनुभयो ।

भेरी अस्पतालका आरआरटी प्रमुखसमेत रहनुभएका डा. रिसालले भदौ लाग्ने बित्तिकै जिल्लाका विकट गाउँबस्तीहरुमा झाडापखालाका बिरामीहरु देखिन थालेको र उनीहरुमा कडा खालको झाडापखाला भएको पाइएको सुनेपछि उपचारका लागि तयारी स्वरुप अस्पतालमा अलग्गै वार्ड सञ्चालन गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय, अस्पतालका मेट्रोन, रेडक्रस, नेपालगन्ज उपमहानगरपालिका लगायत अन्य स्थानीय पालिका तथा सरोकारवाला सङ्घ संस्थाहरुसँगको छलफलपश्चात् भेरी अस्पतालमा झाडापखालाका बिरामीहरुलाई उपचार गर्नका लागि छुट्टै वार्ड सञ्चालन गर्ने सहमति भएको उहाँले जनाउनुभयो ।

“वार्ड सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति स्थानीय पालिकाहरुले पठाउने भन्ने सल्लाह भयो, मुख्यतः वार्ड सञ्चालनका लागि जनशक्तिकै अभाव थियो ।” डा. रिसालले भन्नुभयो, “केही दिनसम्म स्थानीय पालिकाबाट स्वास्थ्यकर्मीहरु आएर सहयोग गर्नुभयो, अहिले भने अस्पताल विकास समितिमार्फत आउनुभएका स्टाफ नर्सहरुले हेरिरहनुभएको छ ।”

झाडापखालाका बिरामीहरुलाई उपचारमा कुनै कमी नआओस भनेर एक जना एमबिबिएस डाक्टरसहित स्टाफनर्स र स्वास्थ्यकर्मीहरुले २४सै घण्टा सेवा दिइरहनुभएको उहाँले जानकारी दिनुभयो । सबैभन्दा पहिला बिरामीहरु इमर्जेन्सीमा आउने र त्यहाँबाट स्क्रिनिङ भएपश्चात् झाडापखालाका बिरामीहरुलाई झाडापखाला वार्डमा पठाउने व्यवस्था गरिएको डा. रिसालको भनाइ छ ।

“बिरामी सबैभन्दा पहिला इमर्जेन्सीमा पुग्नुहुन्छ, त्यहाँ कुन रोग हो पत्ता लगाउने काम हुन्छ, स्क्रीनिङ हुन्छ, स्क्रीनिङ पश्चात् झाडापखालाका बिरामी भए यो वार्डमा पठाइदिनुहुन्छ ।” उहाँले भन्नुभयो, “एकै दिनमा १९÷२० जनासम्म झाडापखालाका बिरामीहरु उपचारका लागि आउनुभएको थियो ।”

गत भदौ ९ गतेबाट १६ वेड रहेको झाडापखाला वार्ड सञ्चालन गरिएको र हालसम्म ५८ जना बिरामीको उपचार भएको एजिई विभागका मेडिकल अधिकृत डा.आसिफ अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिकरुपमा झाडापखालाका बिरामीहरु आउने तथा उपचारपश्चात् घर जाने क्रम चलिरहेको छ । बिहीबार बिहानसम्म वार्डमा ८ जना बिरामीहरु उपचाररत रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा नेपालगन्ज मात्र नभएर जिल्लाका विभिन्न भागमा झाडापखालका बिरामीहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ ।