• ४ वैशाख २०८१, मङ्गलबार

शिक्षालयमा दुई दिन बिदाबारे अन्योल

एक/दुई दिनमा निर्णय गर्छौं : मन्त्रालय

blog

काठमाडौँ, वैशाख २७  गते । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । 

विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले शिक्षण संस्था सातामा दुई दिन बिदा दिँदा विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने बताउनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनु आफूहरूको कर्तव्य भएको जनाएको छ । मन्त्रालय दुई दिन बिदा हुँदा विद्यार्थीको सिकाइमा पर्नसक्ने असरलाई कसरी पूर्ति गर्ने विषयमा पनि छलफल भइरहेको जनाएको छ । 

शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा न्यूनतम २२० दिन विद्यालय खोल्नैपर्छ । पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न विद्यार्थीलाई १८० दिन पढाउनैपर्छ । सातामा दुई दिन बिदा दिँदा पाठ्यक्रमले तोकेअनुसारको पढाइ पूरा गर्न सकिँदैन । 

शिक्षा मन्त्रालय अहिले सातामा दुई दिन बिदा पनि दिने र पाठ्यक्रमले तोकेअनुसारको पाठ्यभार पनि पूरा हुने गरी अध्यापनको खाका तर्जुमा गर्ने छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शुक्रबार पनि पूरै समय पढाउने, वर्षे बिदा कटौती गर्ने तथा त्यसबाहेकका दिनमा पनि पढाइ सञ्चालन गर्नसक्ने विकल्पबारे छलफल भइरहेको छ । 

दुई दिने बिदा कार्यान्वयनका सम्बन्धमा केही दिनअघि शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा सरकारी अधिकारी, सामुदायिक विद्यालयका प्रतिनिधि, निजी क्षेत्र तथा अभिभावकबीच छलफल भएको थियो । त्यसमा पनि निजी विद्यालयहरूले दुई दिन बिदा दिँदा सिकाइमा असर पर्ने सुझाव दिएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका सह अध्यक्ष सुवास न्यौपानेले बताउनुभयो । 

मन्त्रालयका प्रवक्ता शर्माले भने वैशाखभित्रै यस विषयमा ठोस निर्णय गरिने बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने रकममा पनि कटौती हुने सरकारी विश्वास छ । दुई दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुलेर बेलुका ५ः३० मा बन्द गर्ने निर्णय सरकारले गरेको छ । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।