• १० मंसिर २०८१, सोमबार

नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी

blog

बुलबुले समाचारदाता

सुर्खेत, भदौ १७ गते । कर्णाली प्रदेश सरकारको नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । गत आर्थिक वर्ष २०८०/८१ बाट उक्त कार्यक्रम सुरु गरिएको हो । प्रदेश सरकारको उक्त कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्षबाट थप व्यवस्थित गर्न लागिएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने जनाइएको छ । नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै ‘कर्णाली स्वास्थ्य नागरिक विशेष अभियान’ सुरु गर्ने सरकारले जनाएको छ । नयाँ कार्यक्रम अनुसार प्रदेश र जिल्ला अस्पतालमा ज्येष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै वार्डको व्यवस्था गरिने जनाइएको छ । रणनीतिक स्थान तथा दुर्गम हिमाली जिल्लाका स्थानीय तहमा आवधिक विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । ई हेल्थ र दूरचिकित्सा सेवालाई प्रभावकारी बनाई थप विस्तार गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले बताउनुभयो । सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्न प्रोत्साहनसम्बन्धी अभियान सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा परीक्षणका रूपमा कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रम प्रभावकारी मानिएपछि यो वर्षदेखि पर्याप्त बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम व्यवस्थित गर्न लागिएको हो । कार्यक्रमको कार्यान्वयन स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले गर्ने छ । चालु आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि आठ करोड बजेट विनियोजन गरिएको छ । जसमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा पाँच करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ५५ लाख, सामाजिक विकास मन्त्रालयमा ५० लाख, प्रदेश आयुर्वेद औषधालयमा २० लाख र जिल्लाका स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य सेवा कार्यालय र मेहेलकुना अस्पतालमा दस/दस लाख बजेट विनियोजन गरिएको छ ।

नयाँ स्वरूपमा कार्यक्रम कार्यान्वयन

नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेश सरकारले व्यवस्थित रूपमा कार्यान्वयन गर्ने भएको छ । अहिले कार्यविधि निर्माणको काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ कार्यविधि २०८१ निर्माण भइरहेको मन्त्रालयका सूचना अधिकारी उपाध्यायले बताउनुभयो । उहाँका अनुसार कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको कार्यान्वयन सबै जिल्ला र निर्देशनालयबाट हुने उहाँले जानकारी दिनुभयो । नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम निकै प्रभावकारी रहेको मन्त्रालयको दाबी छ । नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम हो । कार्यविधि निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।

जिल्ला–जिल्लाबाट कार्यक्रम कार्यान्वयन

कर्णालीका दस वटै जिल्लाबाट एकै साथ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम कार्यान्वयन हुने छ । त्यसका लागि कार्यविधि निर्माणको काम भइरहेको छ । सबै जिल्लामा दस/दस लाखका दरले बजेट पठाइएको छ । सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि कार्यक्रम थालिएको हो । यो वर्षदेखि परिमार्जन गरेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । गत आर्थिक वर्षबाट कार्यक्रमको थालनी गरिएको थियो । पर्याप्त बजेट विनियोजन गरेर कार्यक्रम व्यवस्थित गर्न लागिएको छ ।