• १६ भदौ २०८१, आइतबार

आकस्मिक अवतरणपछि मुख्यमन्त्री होटेलमा, सुत्केरीको ज्यान जोखिममा

blog

एकै स्थानमा आकस्मिक अवतरण भएका दुई हेलिकोप्टर। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ १६ गते। खराब मौसमको कारण आकस्मिक अवतरण गरिएका दुई हेलिकोप्टर आइतबार रुकुमपश्चिममै रहने भएका छन्। आठबिसकोट नगरपालिका –९ को रंगशालामा आइतबार दिउँसो अवतरण भएका सिम्रिक एयर (नाइन एन–एकेडी)  र नेपाली सेनाको  (नाइन ए ०६६) कलसाइन हेलिकोप्टर यतै रहने भएका हुन्। 

डोल्पाबाट सुर्खेततर्फ उडेका दुई हेलिकोप्टर आकस्मिक रुपमा आठबिसकोटमा अवतरण भएका थिए। लगातारको वर्षा नरोकिएको र रातिसमेत भइसकेकोले दुबै हेलिकोप्टर अवतरण भएकै स्थानमा रहने भएको आठबिसकोट नगरपालिका प्रमुख रबि केसीेले जानकारी दिनुभयो। 

सिम्रिक एयरको हेलिकोप्टरमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको टोली रहेको थियो भने नेपाली सेनाको हेलिकोप्टर एक सुत्केरीको उद्धार गरेर सुर्खेतका लागि उडेको थियो। 

मुख्यमन्त्री चढेको हेलिकोप्टर आइतबार दिउँसो ३ः२५ बजे र सुत्केरी बोकेको हेलिकोप्टर करिब ४ बजे आकस्मिक अवतरण भएको थियो। मुख्यमन्त्री चढेको हेलिकोप्टरमा उहाँको श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक रहेको बताइएको छ। उहाँहरु डोल्पामा सञ्चालित एक मेलाको अवलोकन र पवित्र धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि डोल्पा जानुभएको थियो। 

सुत्केरीको ज्यान जोखिममा

नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएकी डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका २ की २५ वर्षीया पदमीकुमारी बुढाको ज्यान भने जोखिममा रहेको छ। सुत्केरीपश्चात साल ननिस्केको र रक्तश्राव बढी भएपछि उहाँलाई हेलिकोप्टरमार्फत सुर्खेत लानेक्रममा हेलिकप्टर आकस्मिक अवतरण भएको हो। 

यो पनि पढ्नुहोस

सुत्केरी बोकेको हेलिकोप्टर आकस्मिक अवतरण

मुख्यमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

उहाँले घरमै जुम्ल्याह बच्चा जन्माउनुभएको थियो भने एक जनाको मृत्यु भएको थियो। सुत्केरी महिला र नवजात शिशु दुवैको अवस्था बिग्रदै गएको बताइएको छ। 

आठबिसकोटमा आकस्मिक अवतरणपपछि नगर अस्पतालका स्वास्थ्यकर्मीले हेलिकोप्टर अवतरण गरिएकै स्थलमा पुगेर सुत्केरी महिलाको स्वास्थ्य उपचार गरेका थिए। उहाँको अवस्था गम्भीर छ। 

अहिले उहाँलाई आठबिसकोट नगर अस्पतालमा ल्याइएको छ। उहाँलाई सुर्खेततर्फ पठाउनको लागि पहल भइरहेको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो। जाजरकोटको नलगाड नगरपालिकाबाट एम्बुलेन्स मगाएर उहाँलाई सुर्खेततर्फ पठाउने तयारी गरिएको छ। लगातारको वर्षाको कारण आठबिसकोटबाट सुर्खेत जाने सडक ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ। विभिन्न स्थानमा डोजर लगाएर सडक खुलाउने गरिएको छ।   

मुख्यमन्त्रीको टोली भने आठबिसकोटको एक होटलमा बसेको छ। आठबिसकोट नगरपालिकाले कार्यालयम मुख्यमन्त्रीलाई स्वागत समेत गरेको थियो। 

अहिले पनि यस स्थानमा पानी परिरहेको छ। मौसम सुधार भएमा दुबै हेलिकोप्टर  सोमबार नै गन्तव्यतर्फ फर्कने छन्।