• १६ भदौ २०८१, आइतबार

‘सूचनाको हक हरेक क्षेत्रले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने’

blog

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. महेन्द्रमान गुरुङ सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा आयोजित प्रशिक्षक प्रशिक्षणको उद्घाटन सत्रमा बाृल्नुहुँदै । तस्बिर : रासस

पाटन (ललितपुर), भदौ १५ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा शनिबार ललितपुरको गोदावरीमा दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत नागरिक समाजका प्रतिनिधिलाई सूचनामा दिगो पहुँचमा पुर्‍याउन आयोजित प्रशिक्षक प्रशिक्षणको उद्घाटन सत्रमा प्रमुख सूचना आयुक्त डा. गुरुङले सूचनाको हक नागरिकको अधिकार भएकाले यसलाई अभियानका रूपमा लगिनुपर्ने बताउनुभयो । उहाँले सूचना माग्नेलाई कानुनले व्यवस्था गरेअनुसार उपलब्ध गराउनुपर्ने भन्दै सूचना लुकाउनु जायज नहुने धारणा राख्नुभयो ।

मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको भन्दै डा गुरुङले सूचनाको हक संविधानको धारामा मात्र व्यवस्था नभई अभ्यास र कार्यान्वयन हुनु जरुरी रहेको बताउनुभयो ।

“सार्वजनिक निकायको सूचना नागरिकले कानुनमा व्यवस्था भएअनुसार प्राप्त गर्न पाउनुपर्दछ । मुलुकको संविधानमा पनि सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ”, प्रमुख सूचना आयुक्त डा गुरुङले भन्नुभयो, “यसले भ्रष्टाचार, अनियमितता उजागर गर्न सहयोग पुर्‍याउँछ । आम नागरिकलाई सूचनाको हकका बारेमा बुझाउन आवश्यक छ ।”

सूचनाको हक नेपालमा भएका कानुनमध्ये सबैभन्दा सरल कानुन हो भन्नुहुँदै उहाँले यो अभ्यासबाट सार्वजनिक निकाय सचेत र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले सोही अधिकारीले नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउनुपर्ने उल्लेख गर्नुभयो ।

“सूचनाको हकले शासन सञ्चालन गर्दा पारदर्शी भएर नागरिकमैत्री रूपमा सञ्चालन गर्नुपर्ने विषयलाई जोड दिन्छ । नेपालमा भएका सबै कानुन कार्यान्वयन भएका छन्/छैनन् भनेर मूल्याङ्कन गर्न पनि यसले सहयोग गर्छ, तथ्यमा आधारित पत्रकारिताका लागि पनि सूचनाको हकले सहयोग गर्छ”, गुरुङले भन्नुभयो । आयोगमा सूचनाको हकको पुनरावेदन अझै कम परिरहेका भन्दै उहाँले सूचना माग्ने बानी बसाल्न सबैलाई आग्रह गर्नुभयो ।

नागरिकलाई सचेत बनाउन यो प्रशिक्षणबाट प्रशिक्षित हुनेहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास लिइएको प्रमुख सूचना आयुक्त डा. गुरुङको भनाइ छ । उहाँले नागरिकको हक र अधिकारका रूपमा नागरिकलाई सूचना माग्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष उमिद बागचन्दले सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउँदै देशभरका नागरिकलाई सुसूचित गराउन यो प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । उहाँले सूचनाको हक प्रयोग गरेर सूचना माग्ने मात्रै होइन सही रूपमा उपयोगपनि गर्नुपर्ने बताउनुभयो । 

प्रशिक्षक चिरञ्जीवी खनालले नेपालभरि सूचनाको हकको अभ्यास गर्न समुदायस्तरमा सचेतना जगाउन आवश्यक पर्ने बताउनुभयो । महासङ्घका महासचिव अजय शाहले सूचना माग्नका लागि अभिप्रेरित गर्न, नागरिकलाई सचेत गराउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका केन्द्रीय सदस्य एवम् सूचनाको हकका अभियन्ता महेन्द्र भट्टराईले कालिकोटमा उपभोक्ता समितिमार्फत काम गरेका मजदुरले छ महिनासम्म पारिश्रमिक पाउन नसकेको अवस्थामा सूचनाको हक प्रयोग गरेर दुई महिनामा पाउने व्यवस्था मिलाइएको अनुभव सुनाउनुभयो ।

सूचनाको हकका अभ्यासकर्ता विश्वजित तिवारीले सूचनाको हक लोकतन्त्रको प्राणवायु भएको बताउँदै सत्यतथ्य कुरा उजागर गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकलाई सही सूचना पुर्‍याउन सहयोग यो कार्यक्रम सहयोगी हुने अपेक्षा लिइएको उल्लेख गर्नुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले संविधानले आम नागरिकलाई दिएको हक प्रयोग गरेर सूचना माग्ने अभ्यास गर्नुपर्ने बताउनुभयो । उहाँले यस कार्यक्रमले सूचनाको हकसम्बन्धी ज्ञान र सीपको विकास गरेर अभ्यासमा उतार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच र प्रवर्द्धन पुर्‍याउने उद्देश्यले आजदेखि सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । रासस