• १३ पुस २०८१, शनिबार

मक्खली गोसाल (कथा)

blog

रातको तेस्रो प्रहर काट्दासम्म पनि भद्दालाई निद्रा परेन । मस्तसँग सुतिरहेका खसमलाई सुस्तरी झकझक्याइन्, “स्वामी अब उठ्नुहोस्, ब्रह्ममुहूर्तले छोडिसक्यो, छिटो भागौँ ।” मङ्ख जरपताल उठे । हिजो राति तयारी हालतमा ठिक पारेको पोकापन्तरा बोक्दै भने, “ल हिँडौँ । बिस्तारै है, नत्र समातिन सक्छौँ ।” मगध साम्राज्यको राजधानी पाटलीपुत्रमा धर्माकर भन्ने सेठको घरबाट भाग्न सफल दुई दासदासी मङ्ख र भद्दा सैयौँ माइल दूर सरावन गाउँनजिकै आइपुगे । चौतारीको वरपिपलमा बसी कुम्लो कुटुरो खोल्दा खानपिनको सामल करिब करिब सकिइसकेको रहेछ । बचेको थोरै सातु खाएर पल्टिँदा निद्राले छोपिहाल्यो । 

लखतरान भएका श्रीमान्लाई उठाउन उनी बाध्य भइन्, “स्वामी... सारै दु्ख्न थाल्यो । मलाई लाग्छ यो प्रसूति व्यथा हो... ।” पछिल्ला दुई शब्द ‘प्रसूति व्यथा’ सुन्दा उनी झसङ्ग भए । “अहो ! प्रिय... तिम्रो सातै महिना चलिरहेको होइन र ?” “अँ... अँ... सात महिनामा नि त हुन्छ नि... ख्वामित ।” आफ्नो सुधबुधलाई समालेर चारैतिर हेरे । बिहानको घामले समयलाई भर्खरै दिनतर्फ धकेल्दै थियो । व्यथाले छट्पटाइरहेकी भद्दालाई जुरुक्क उचालेर उनी गोठतिर दौडे । पराल ओछ्याएर भुइँमा सुताउँदै गर्दा उनको सारा शरीर लगलग काँपिरहेको थियो । श्रीमतीको लामो केशराशि मुसार्दै भने, “हे प्रिय, बस्ती नजिकै छ । म त्यहाँ पुगेर हारगुहार माग्छु ।” जवाफको प्रतीक्षा नगरेर उनी दौडिहाले । गाउँका मुखिया र अरू ८÷१० जना गाउँलेसँगै फर्किंदा उनकी दहिताको प्राणपखेरु उडिसकेको रहेछ । लासको छेउमा नवजात शिशु ‘मक्खली गोसाल’ च्याँ... च्याँ... रुँदै हातगोडा चलाइरहेका थिए । ती बाबुछोराको कुनै आधार थिएन । दुवैलाई मुखियाले दासको दर्जामा आश्रय दिए । 

समयको दौडाइले यसको दुरी कति चाँडो पार गर्छ भन्ने कुरा थाहै नपाई गति सङ्केतहरू देखिन थाल्छन् । टकटकी घाम लागेको कुनै दिन युवावयमा भर्खर टेकेका मक्खली कोल टाकुराबाट तोरी पेलेर घर फर्किंदै थिए । भरी तेल मट्का उनको काँधमा थियो । पछाडिबाट उनका मालिकले “बाटो हिलाम्मे किचड छ, बिस्तारै... होस गरेर हिँड...” के भन्न भ्याएका थिए “छप्ल्याक स्याट... भ्याट्ट... ।” १० पाथी तेल रसातल्ल भयो । र “ल... ल... ए गधा... पख... तँलाई... ।”

अब मलाई मालिकले भेट्टाएपछि मार्छ । उनी पछाडि नफर्कीकनै सरपट मारे । पछि पछि लखेट्दै बल्लतल्ल मालिकले उनको दासकन्ना (दासले लगाउने जामा जस्तो खुकुलो लुगा) को फेर समात्न भ्याए । उनले दौडँदै आफ्नो वस्त्र मालिकतर्फ हुत्याइदिए । नग्नावस्थामा उनी भाग्दै गए.... भाग्दै... । त्यसपछि मक्खली गोसाल नग्न सन्न्यासीको नाउँले जनश्रुत भए । उनका अनुयायी र शिष्यहरूमाझ उनी कति श्रद्धावान् भइसकेका थिए भने उनी सर्वज्ञ ज्ञानका भण्डार हुन् ।

श्रावस्ती नगर क्षेत्र अन्तर्गत अनाथ पिण्डक ग्रामवरिपरि मानिसको चहलपहल असामान्य स्थितिमा बढ्दै गइरहेको थियो । भगवान् बुद्धको विहार जेतवन आम्रकुञ्जमा उहाँको अनुसरणमा आउने भिड र त्यसको अतिरिक्त आज हुने शाक्यमुनिसँगको प्रत्यक्ष संवादको कारण हो भन्ने सजिलै अड्कल लगाउन सकिन्थ्यो । ‘गण्डव’ आँप वृक्षका छहारीमा तथागतले आसन लिँदा प्रत्येकका आँखा अति मुग्धावस्थामा अपलक भए । कतिले त आफ्ना अश्रुवेग रोक्न सकिरहेका थिएनन् । चारै दिशाबाट ओइरिएका विपन्नदेखि वैभवशालीसम्मको त्यो जनबल पङ्क्तिबद्ध थियो । त्यस दिनको साक्षात्कारमा बुद्धसँग टक्कर लिन सक्छौँ भन्ने बुद्ध समकालीन छ विद्वान् दार्शनिक– पुरण कश्यप, सञ्जय बेलोत्थिपुत्त, निगण्ठनाथ पुत्त, पकुध कच्चायन, अजित केश कम्बली र मक्खली गोसालको उपस्थिति थियो ।

त्यो अथाह जनसमूहमा बुद्ध देवको देदिव्यमान आभाद्वारा निःसृत प्रेम, दया, समानुभूति, शान्ति, करुणा आदि अमृतरस फैलिँदै गएको प्रतीत हुन्थ्यो । ती छ जना विद्वान् दार्शनिकमध्ये पाँच जनाले बुद्धसमक्ष आफ्नो जिज्ञासा प्रकट गरी आफ्नो पालो पु¥याइसकेका थिए । अन्तिम जिज्ञासु थिए, मक्खली गोसाल । ...अभिवादन गर्दै उनले प्रथम प्रश्न गरे, “हे सिद्धार्थ, यहाँले अवलम्बन गर्नुभएको मार्ग के मोक्ष अर्थात् निर्वाणतर्फ उन्मुख छ ?” शाक्यमुनि हल्का मुस्कुराउँदै बोले, “हे प्रज्ञावान् गोसाल, मोक्ष या निर्वाण प्रत्यक्ष देखिने परमानन्द होइन । परन्तु त्यस उज्ज्वल दिशातिर जान सकिने यो सम्यक् पद्धति... सहजपथ अवश्य हो ।” तुरुन्तै उनले दोस्रो प्रश्न गरे, “हे महाश्रवण यहाँलाई कतिले भगवान् भन्ने गरेका छन् । आफूलाई यहाँले ईश्वरीय अवतार या भगवान् हुँ भन्ने मान्नुभएको छ ?” शान्त मुद्रामा आफ्नो दाहिने हात उठाउँदै बुद्धले भने, “मलाई कसैले भगवान् अवतार त कसैले ढोँगी पनि भन्ने गर्छन् । ती प्रत्येकसँग प्रतिकार गर्दै जानु म मूर्खता ठान्छु । म आफूलाई एक जागृत पुरुष भन्न रुचाउँछु ।” गोसालले कति विलम्ब नगरी अर्को प्रश्न सोधे, “हे बुद्ध गौतम, लोक÷परलोक या स्वर्ग÷नर्कबारे यहाँको दृष्टान्त के छ ?” तथागतले जनसमूहको विशाल सागरलाई अवलोकन गर्दै भने, “हे गोसाल, संसारको आदि र अन्त, लोक÷परलोक एवं स्वर्ग÷नर्क विचारबाट अलग बस । हाल सबैले आफ्नो आन्तरिक स्थितिमा परिवर्तन लाने विधिमा मात्र ध्यान दिनु पर्छ ।”

मक्खली गोसालका निम्ति यी जवाफ अप्रत्याशित एवं तर्कातीत र अलोचनातीत थिए । उनले लामो निःश्वास लिँदै पुनः सोधे, “हे तथागत, सत्य के हो ?” बुद्ध देवले करुणामयी नेत्रद्वारा सबैलाई हेर्दै भने, “सत्यको भाष्य अति बृहत् छ । सङ्क्षेपमा भन्नुपर्दा अर्धसत्य, सापेक्ष सत्य, सत्य र पूर्ण सत्यमा विभाजित देखिन्छन् । सत्यानुभूतिको प्रत्यक्ष साक्षात्कार हुनु नै मेरो अनुसरण हो तर सत्यको निश्चित परिधि र प्रारूप  छैन । जसरी वर्षायाममा बादलभित्रबाट झिलिक्क सौदामिनी चम्किन्छ, त्यसरी नै एक पलमा सत्यको अनुभूति कुनै बेला अवश्य हुन्छ । अहिलेलाई मुख्य कुरा दुःखको चङ्गुलबाट मुक्त हुनु हो ।” अथाह भिडबाट एकै स्वर गुन्जियो, “बुद्धम् शरणम् गच्छामी ।” सारा मानवसागर बुद्धको सामीप्य–शीतलमा बाँधिएको सहज महसुस हुन्थ्यो । उनले एकछिन अडिएर भने, “हामी सबै चार प्रकारले दौडिरहेका छौँ । अन्धकारबाट उज्यालो, अन्धकारबाट अन्धकार, उज्यालोबाट अन्धकार र उज्यालोबाट उज्यालोतर्फ ।” गोसालले बिचैमा प्रश्न गरे, “अबको नवपथ र नवदृष्टि के हो मान्यवर ? साथै सांसारिक यथार्थ के हो ?” 

“सुन ! संसारमा हरेक वस्तु एकअर्काको अन्तरसम्बन्धमा जकडिएका हुन्छन् । प्रत्येक व्रिmयाका प्रतिव्रिmयाद्वारा सम्बन्ध र अन्तरसम्बन्धलाई एकअर्कामा समाहित हुन मद्दत पु¥याइरहेको हुँदा सांसारिक यथार्थ भनेको प्रत्येक व्रिmयाद्वारा प्राप्त हुने शृङ्खलाबद्ध प्रतिव्रिmयाहरूको सञ्जाल हो । संसारको व्याख्यान र परिभाषालाई जान्न एउटा कडी र अर्को कडीसँग गाँसिएको अखण्ड जालोलाई गहिरिएर बुझ्न जरुरी हुन्छ । त्यसमा त्यागको महìवपूर्ण भूमिका रहन्छ । व्यक्ति आफूले आफैँलाई त्याग्न प्रथमतः श्रेष्ठकर हुने छ । यसर्थ दुःखको कारण र मुक्ति दुवै छन् । मैले सुरुमै भनिसकेको छु, चार आर्य सत्य र अष्टाङ्गिक मार्गपथको अनुसरण गरेमा यात्राको अनिश्चितताबाट अस्तव्यस्त हुनु पर्दैन ।” लामो व्याख्यानपछि शाक्यमुनि आँखा चिम्म गरेर मौन भए । मक्खलीले पनि कुनै प्रश्न गरेनन् । 

त्यसपश्चात् मक्खली एकछिन पनि त्यहाँ बस्न रुचाएनन् । त्यो विशाल जनसमूहको लर्कोलाई पन्छाउँदै उनी मूलद्वारतर्फ लागे । सेठ अनाथ पिन्डकद्वारा अर्पण गरिएको त्यस सुन्दर एवं विशालकाय उद्यान पार गरी बाहिर निस्किँदा रातको शून्यताले सम्पूर्ण ग्राम क्षेत्रलाई आफ्नो चिसो चिस्यानमा बाँधिसकेको थियो । गुरुलाई खोज्दै उनका प्रमुख शिष्य आयम पुलले भने, “स्वामी गुरु, हजुरलाई मैले खोज्दा खोज्दै... ।” उनको हातमा भरिएको दुधको मट्का र मृत्तिकाको घाँटी बाबियोको डोरीले बाँधिएको थियो । “हे गुरुवर हजुरलाई भोक लाग्यो होला... दुध ग्रहण गर्नुहोस् ।” कुनै उत्तर नदिएर गोसालले पूरै दुध रित्याइदिए । “मान्यवर, मेरो मनमा एउटा प्रश्नले आज कुत्कुत्याइरहेको छ । त्यो के भने... के भने... तथागत बुद्ध... ।” शिष्यको वाक्य पूरा नहुँदै मक्खली गोसाल चर्को स्वरमा बोले, “प्रिय आयमपुल, अब मलाई कुनै कुरा नसोध । प्रश्नहरू आफैँसँग जोगाएर राख । वीणा बजाऊ... वीणा बजाऊ... जसले तिम्रो तप्त हृदयमा शान्ति दिने छ ।” 

अनि उनी मट्काको रस्सी फुकाएर हातमा लिँदै दौडिहाले । बेतोड दौडिरहेका उनका जोडी पदचाप श्रावती नदीको किनारामा आई रोकिए । छालहरूका सुसाहटले नदी अति वेगशील भएको अन्दाज लगाउन सकिन्थ्यो । गोसाल–मक्खली–मङ्खका नेत्रहरूले तल नदीलाई हेर्दै माथि आकाशको दीर्घवृत्त परिधिलाई मापन गर्न खोजिरहेका थिए । तारागणहरू बादलको दोलाईमा गुटुमुटु भएर सुतिसकेका रहेछन् । 

एउटा गह्रुँगो ढुङ्गालाई डोरीले मसक्क बाँधी डोरीको अर्को फेरलाई घाँटीमा सुक्र्याएर उर्लिंदो श्रावती नदीको भेललाई हेरी मक्खली चिच्याए, “यो मङ्ख मक्खली गोसाल जो सदा अस्तित्वको खोजीमा भौतारिइरहने आज अन्तिम क्षणको यस समय सन्धिमा भन्न चाहन्छ... अन्तिम पेय, अन्तिम गीत, अन्तिम नृत्य, अन्तिम मेघ... अन्तिम अभिनन्दन... । दुःखको पूर्ण निवारणमा... खेल खतम ।” नदीको छालसँगसँगै भुमरीले उनलाई तुरुन्तै लपेटिहाल्यो । क्षणिक आलोडनमा त्यहाँ तृष्णा, राग, द्वेष, प्रेम, घृणा, माया, दुःख, पीडा, विषाद... आकाङ्क्षा... आनन्द आदि झ्वाट्ट... झ्वाट्ट आउँदै र हराउँदै गए... । एउटा मूल तरङ्ग कता पुग्यो ? उनले पत्तै पाएनन् ।