• २५ असार २०८१, मङ्गलबार

कृषिमा नयाँ प्रविधि प्रयोगमा जोड

blog

नेपाल कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सवका अवसरमा परिषद्बाट प्रकाशित कृति विमोचन गर्नुहुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल ।तस्बिर : रासस

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २६ गते  । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिका लागि प्रविधि अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को ३१औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले कुन ठाउँमा के उत्पादन हुन्छ, सोहीअनुसारको बाली विकास गर्न 

सुझाव दिनुभयो । नार्कअन्तर्गतका कृषि अनुसन्धान केन्द्रले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउँदै उपाध्यक्ष पौडेलले कृषि कलेजसँग समन्वय गरेर अनुसन्धानको काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।सरकारले कृषि क्षेत्रमा ठूलो लगानी गरे पनि उत्पादनमा आत्मनिर्भर बन्न नसकेको चर्चा गर्दै उहाँले उत्पादन बढाउन उन्नत प्रविधि विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले मधेस र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै गरिबी भएकाले कृषिबाट त्यहाँको गरिबी न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । यसका लागि नार्कले मौसम, हावापानीअनुकूल नयाँ जात विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।  

स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा कृषिजन्य वस्तुको आयात भइरहेकाले पनि उत्पादन बढाउन उन्नत जात र प्रविधि किसानसमक्ष पु-याउन अति आवश्यक रहेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिनेगरी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव गोविन्द्रप्रसाद शर्माले कृषि उत्पादन बढाउन उन्नत प्रविधि विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्दै सरकारले रासायनिक मल, बीउ र उन्नत प्रविधिको विस्तारमा जोड दिँदै आएको बताउनुभयो ।  

नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले नार्कले खाद्यान्नलगायत कृषिजन्य वस्तुको आयात र खाद्य सुरक्षाको दृष्टिकोणले खाद्यान्न बालीको अनुसन्धानलाई प्राथमिकतामा राख्दै धान, मकै, गहुँ, आलुमा बढी उत्पादन दिने र जलवायु परिवर्तनअनुकूल रोग कीरा अवरोधक नयाँ जात विकास गरिएको जानकारी दिनुभयो ।  

उहाँका अनुसार २० वर्षको अवधिमा धान, मकै र गहुँको क्षेत्रफल क्रमशः ३, २६ र १९ प्रतिशत र उत्पादनमा ६०, १२० र १४० प्रतिशतले वृद्धि भएको छ । नार्कले कृषि क्षेत्रलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन प्रत्येक प्रदेशमा कृषि अनुसन्धान निर्र्देशनालयको स्थापना गरेको छ । ९४ प्रतिशत क्षेत्रफलमा नार्कले विकास गरेका गहुँको जातको प्रयोग गर्दै आएको छ ।

नार्कले विकास गरेको उन्नत प्रविधिले उत्पादन र उत्पादकत्व बढाउन महत्त्वपूर्ण योगदान पु-याएको नार्कले जनाएको छ । अनुसन्धान गरेका प्रविधिलाई कृषकको पहुँच वृद्धि गर्न प्रत्येक प्रदेशमा एक/एकवटा नार्क प्रविधि गाउँ स्थापना गर्ने उद्देश्यअनुरूप अहिले तीनवटा प्रदेशमा नार्क प्रविधि गाउँ स्थापना गरेको नार्कले जानकारी दिएको छ । 

अनुसन्धान प्रणालीलाई थप सबल बनाउन प्रत्येक प्रदेशमा दीर्घकालीन सोचअनुरूपको राष्ट्रिय कृषि अन्वेषण प्रणाली स्थापना गरिएको छ । सो अवसरमा विभिन्न बालीसँग सम्बन्धित पुस्तक विमोजन गरिएको थियो । दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।