• २० असोज २०८१, आइतबार

कोरिडोरमा विद्युत् आपूर्ति नियमित

blog

नवराज कट्टेल  

विराटनगर, वैशाख २६ गते । औद्योगिक कोरिडोरमा दुई महिनापछि विद्युत् आपूर्ति नियमित भएसँगै सुनसरी–मोरङका उद्योग सहज रूपले सञ्चालन हुन थालेका छन् । गत फागुनदेखि अन्सेड्युल लोडसेडिङले पिरोलिएका यहाँका उद्योगीले गत मङ्गलबारदेखि उद्योग पूर्ण रूपमा सञ्चालन गर्न थालेका हुन् । 

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले मङ्गलबारदेखि सुनसरी–मोरङ कोरिडोर पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । “अहिले ढुक्क भएका छाँैं, दुई महिनासम्म अत्यासलाग्दो स्थितिबाट गुज्रेको कोरिडोर पुनः लयमा फर्केको छ,” अध्यक्ष रिजालले भन्नुभयो । 

यहाँ दैनिक १२ घण्टा अन्सेड्युल लोडसेडिङ भइरहेको थियो ।  बिनासूचना विद्युत् आपूर्ति बन्द हुँदा औद्योगिक कोरिडोरको उत्पादन कटौती गर्नेदेखि मजदुरलाई बिदा बसाउनुपर्ने अवस्था आएको थियो । 

एक दिन उद्योग बन्द हुने

स्थानीय निर्वाचनलाई लक्षित गर्दै सुनसरी–मोरङ औद्योगिक कोरिडोर एक दिन बन्द रहने भएको छ । कोरिडोरका ठूला, मझौला तथा साना गरी पाँच सय उद्योग आगामी वैशाख ३० गते बन्द गरिने भएको हो । मोरङ व्यापार सङ्घका अध्यक्ष रिजालले मतदान गर्ने अधिकारलाई सुरक्षित गर्न टाढा घर जानुपर्ने मजदुर भए २९ गते बिदा दिने र  ३० गते औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा बन्द राखिने बताउनुभयो । 

विराटनगर भन्सार कार्यालयसमेत २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएकाले कोरिडोर पनि बन्द हुने अध्यक्ष रिजालले बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मतदान गर्ने अधिकार सुरक्षित राख्नेगरी उद्योग सञ्चालकले ३० गते उद्योग बन्द राख्ने जानकारी दिनुभयो ।