• १३ भदौ २०८१, बिहिबार

सशस्त्र प्रहरीद्वारा २७ लाखको पटाका बरामद

blog

जनार्जन खत्री
सर्लाही, भदौ १३ गते ।
सशस्त्र प्रहरीले सर्लाही सदरमुकाम मलङ्गवाबाट ठूलो परिमाणमा पटाका बरामद गरेको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका–४ गणेशिया चौरको चिम्नि नजिकै २७ लाख ७७ हजार ५५२ रुपियाँ बराबरको पटाका बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १० गण हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।

गणबाट खटिएको टोलीले दुई कोठे टिनको कच्चि टहरामा शङ्का लागि चेकजाँच गर्दा बेवारिसे अवस्थामा रहेको पटाका बरामद गरेको र थप अनुसन्धानसहित आवश्यक कारबाही प्रक्रिया जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नजिकिदो चाडवाडसहित विशेषगरी दीपावली, तिहार र छठ पर्वमा आतिसवाजीको रुपमा प्रयोग हुने पटाकाजन्य सामग्री भारतमा निर्वाध प्रयोग गर्न पाइन्छ । खुला सिमानाका कारण नेपालमा भने भारतबाट तस्करीमार्फत हरेक वर्ष चाडवाडको समयमा ठूलो मात्रामा पटाकाजन्य सामग्री भित्रिने गर्दछ ।

चाडवाडकै बेला भित्र्याउँदा सुरक्षा सजगता हुनेहुँदा तस्कर गिरोहले समयमै भारतबाट भित्र्याएर काठमाडौँसहित मुलुकका प्रमुख शहरहरुमा पठाउनका लागि उक्त पटाका गोदाम गरेको अनुमान गरिएको छ ।