• १९ असार २०८१, बुधबार

मतदाता शिक्षा नहुँदा अन्योल

blog

अछाम समाचारदाता 

मङ्गलसेन, वैशाख २६  गते । स्थानीय तहको निर्वाचन नजिकै आउँदा पनि अछाममा मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्योलमा परेका छन् । मतदाता शिक्षाबिना मत बदर हुने डर मतदातामा रहेको छ । आफूलाई मतदानका लागि घर–घरमा पुगेका उम्मेदवारहरूले पनि मत सदर हुने गरेर कसरी मतदान गर्ने भन्नेमा नबताउने गरेको भनाइ छ । 

हामीलाई यो चिह्नमा मात्रै मत हाल्नु भन्छन् तर कसरी हाल्ने भन्नेमा कसैले सिकाउँदैन । मङ्गलसेन नगरपालिका–५ का कोकिला जैसीको भनाइ छ । “भोट कसरी हाल्ने भन्नेमा अहिलेसम्म कसैले भनेको छैन, मलाई भोट देओ भनेर मात्रै आउँछन्,” जैसीले भन्नुभयो । 

स्थानीय निर्वाचनमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडा सदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । अझै कतिपय स्थानमा गठबन्धनका उम्मेदवार भएकाले तलमाथि चिह्नमा मत हाल्नुपर्ने भएकाले मतदाता अल्मलिने आशङ्का गरिएको छ । गठबन्धनमा मतदाताले सही रूपमा मत हाल्न नसकेमा बदरको सङ्ख्या बढी हुने भनाइ छन् । निर्वाचन आयोगले यस पटकको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा सञ्चालन नगरेको स्थानीयको भनाइ छ । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्रप्रकाश थारूले मतदानकै दिन मतदानस्थलमै मतदाता शिक्षा दिने आयोगको तयारी रहेको बताउनुभयो । मतदाता शिक्षाका लागि मतदानस्थल बाहेक अन्यमा कार्यक्रम नआएको थारूको भनाइ छ ।

“छोटो समय भएर होला, यस विषयमा निर्वाचन आयोगले हामीलाई केही भनेको छैन, बजेट पनि पठाएको छैन ।” थारूले भन्नुभयो । जिल्लाका राजनीतिक दलहरूले आफ्ना मतदाताहरूलाई मतदाता शिक्षा दिने तयारी गरिरहेको दाबी गरेका छन् । गाउँमा गएर मतदाता शिक्षाका लागि सामग्री तयारी गरिरहेको दलका नेताहरूको भनाइ छ । 

स्थानीय तह निर्वाचन २०७४ मा अछाममा ९० हजार १८५ मत खसेकामा दुई हजार ३३९ मत बदर भएका थिए । उक्त निर्वाचनमा अछाममा एक लाख २७ हजार ७४२ मतदाता रहेका थिए । यस पटकको निर्वाचनमा अछामका १० स्थानीय तहका ९१ वडामा एक लाख ५६ हजार २८० मतदाताले मतदान गर्न पाउनेछन् ।