• ६ जेठ २०८१, आइतबार

समयमै सूचना प्राप्त गरेमा मात्रै समाधानको रणनीति बनाउन सकिन्छ : गृहमन्त्री खाण

blog

काठमाडौँ, २५ वैशाख। गृहमन्त्री बालकृष्ण खाणले सत्य तथ्य सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताउनुभएको छ। 

आइतबार राष्ट्रिय अनुसन्धान विभागको निरीक्षणपछि गृहमन्त्री खाणले सत्य तथ्य सूचना जतिसक्यो छिटो सरकारसम्म पुर्‍याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सवल हुनुपर्ने बताउनुभयो। 

नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषणसहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउनसक्ने उहाँको भनाइ छ। 

अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना र त्यसले पार्ने प्रभावको विश्लेषण सरकारलाई अहिलेसम्म उपलब्ध गराउँदै आएको र अब प्रभावकारी सूचना र विश्लेषण सरकारलाई दिने विश्वासमा सरकार रहेको बताउनुभयो। 

‘‘विश्वमा प्राकृतिक स्रोत साधनको उपयोग, राजनीतिक, सामाजिक, आर्थिक, आपराधिक र प्रविधिबारे के कस्ता नयाँ सूचना के आएका छन्। त्यसको प्रभाव के पर्छ  यसबारे राष्ट्रलाई जानकारी हुनु आवश्यक छ,’’ गृहमन्त्री खाणले भन्नुभयो, ‘‘यसबारे बेलैमा सत्य, तथ्य सूचना अनुसन्धान विभागले राज्यलाई दिइरहेको छ। आगामी दिनमा अझ प्रभावकारी सूचना दिने विश्वासमा सरकार छ।’’

लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक रूपमा सरकार परिवर्तन हुन स्वभाविक भए पनि सरकार परिवर्तनले विभागलाई असर पार्न नहुने गृहमन्त्री खाणले बताउनुभयो। 

मुलुक स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा रहेको बताउँदै गृहमन्त्री खाणले निर्वाचनलाई स-साना घटनाले प्रभाव पार्ने बताउनुभयो। घटना हुनसक्ने पूर्वानुमान र घटना घटिहालेमा समयमै सूचना प्राप्त भएमा तत्काल समाधान खोज्ने रणनीति बनाउन सकिने भन्दै उहाँले त्यो काम अनुसन्धान विभागले गर्न सक्ने बताउनुभयो। 



गृहसचिव टेकनारायण पाण्डेले पछिल्लो समय प्रविधिको विकाससँगै सुरक्षा चुनौति बढेको भन्दै त्यो चुनौतिलाई तत्काल समाधान गर्न सत्य तथ्य सूचना बेलैमा आइपुग्न आवश्यक रहेको बताउनुभयो। 

उहाँले राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधिको प्रयोग गरी सबै स्थानका सूचना एकै स्थानमा बसेर सङ्कलन गर्ने सम्यन्त्रको विकास गर्नतर्फ लाग्न आग्रह गर्नुभयो। 

अनुसन्धान विभागले उपलब्ध गराउने सूचना अझ परिस्किृत गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। गृहमन्त्री खाण र गृहसचिव पाण्डेसहितको टोलीलाई विभागका मुख्य अनुसन्धान अधिकृत यदुलाल खरेलले विभागको वर्तमान अवस्था र इतिहास, विभागका जिम्मेवारी, अहिलेका सुरक्षा चुनौती र सरकारले गर्नुपर्ने कामबारे अवगत गराउनुभएको थियो।