काठमाडौँ, भदौ ११ गते । त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण भएको विषयमा सरकारी अध्ययन भइरहेका बेला विगतमा त्रिविलाई दिने घोषणा गरिएको तर हालसम्म भोगचलन नै गर्न नपाएको जग्गाको विषयमा नयाँ तथ्य पत्ता लागेको छ । 
काठमाडौँ उपत्यकाभित्र रहेको त्रिविको जग्गाको विषयमा अध्ययन गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो । अध्ययनका क्रममा ललितपुर लुभुको ३७५ रोपनी र कपनको २९ रोपनी आठ आना जग्गाको विषय हालसम्म बेखबर छ । जब कि यी दुवै स्थानको जग्गा त्रिविलाई दिने भनिएको सरकारी दस्ताबेजबाट नै पुष्टि हुन्छ ।
तत्कालीन मुमा बडामहारानीद्वय कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी शाहले हालको त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ललितपुरको लुभुमा ३७५ रोपनी जग्गा दिनुभएको थियो । २०१३ सालमा आफ्नो निजी बिर्ताका रूपमा रहेको उक्त जग्गा उहाँहरूले त्रिवि स्थापना नहुँदै दिने घोषणा गर्नुभएको थियो तर अहिले उक्त जग्गा के कस्तो अवस्थामा छ भन्ने विषयमा कसैलाई थाहा छैन ।
मुमा बडामहारानीद्वयले उक्त जग्गा दिएको विषयमा २०१३ साल असार १९ गतेको गोरखापत्रमा समाचारसमेत छापिएको थियो । असार १७ गतेको डेटलाइन भएको तर १९ गते ‘तीन सय पचहत्तर रोपनी बिर्ता जग्गा त्रिभुवन विश्वविद्यालयका निम्ति श्री ५ मुमाबडामहारानीहरूबाट बक्सियो’ भन्ने शीर्षकमा छापिएको समाचार अध्ययन गरेपछि मात्रै लुभुमा दिइएको जग्गाबारे जानकारी भएको समितिले जनाएको छ ।
विश्वविद्यालयको उपत्यकाभित्रको जग्गा अध्ययन तथा अनुसन्धान गर्न सरकारले समिति गठन गरेपछि यो तथ्य उजागर भएको हो । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिका सदस्य जानकीवल्लभ अधिकारीका अनुसार विभिन्न सरकारी दस्ताबेज अध्ययन गरेपछि मात्रै लुभुमा त्रिविलाई जग्गा दिने निर्णय भएको बारेमा पत्ता लागेको हो ।
समितिका अनुसार उक्त जग्गाको आधिकारिक दस्ताबेज अहिलेसम्म कतै पनि भेटिएको छैन । “ललितपुरको नापी र मालपोत कार्यालयसँग समेत समन्वय गरेर जग्गाको वास्तविकता पत्ता लगाउने कोसिस गरिरहेका छौँ,” अधिकारीले भन्नुभयो, “मुमा बडामहारानीहरूले चन्दास्वरूप दिने घोषणा गरेपछि उक्त जग्गा त्रिविले लियो कि लिएन भन्ने विषयमा समेत आधिकारिक कागजपत्र पाएका छैनौँ ।”
त्यतिखेर विश्वविद्यालय स्थापनाका लागि उक्त जग्गा दिइएको भए पनि पछि यातायातको सुविधा हुने, पानीलगायत अन्य सुविधा भएको ठाउँ विश्वविद्यालयका लागि उपयुक्त हुने राय आएपछि अन्य स्थानमा पनि जग्गाको खोजी भएको थियो । त्यसपछि महाराजगन्ज, कीर्तिपुरलगायतका ठाउँमा जग्गा हेरिएको थियो र हालको कीर्तिपुरलाई विश्वविद्यालय स्थापनाका लागि उपयुक्त ठाउँ मानिएको थियो । हाल विश्वविद्यालय रहेको ठाउँलाई त्यतिबेला ट्याङ्लाटार भन्ने गरिन्थ्यो ।
कपनको जग्गाको पनि छैन प्रमाण
त्रिविलाई दिने भनिएको तर हालसम्म वास्तविकता पत्ता लाग्न नसकेको लुभुको जग्गा जस्तै अवस्थामा छ काठमाडौँ कपनको जग्गा पनि । विद्वत्शिरोमणि हेमराज पाण्डेले कपनमा २९ रोपनी आठ आना जग्गा त्रिविलाई दिने घोषणा गर्नुभएको तर वास्तविकता अझै पत्ता नलागेको समितिका सदस्य अधिकारीले जानकारी दिनुभयो । पाण्डेबाट प्राप्त ‘काठमाडौँ जिल्ला कपन पञ्चायत वडा नं. सात ‘क’ स्थित १९ कित्ताको जग्गा’ लिने निर्णय त्रिवि कार्यकारी परिषद्ले २०४६ साल असारमा गरेको देखिन्छ । समितिले एक साता लगाएर २०१९ सालदेखिको त्रिवि कार्यकारी परिषद्का बैठकका निर्णय अध्ययन गरेको थियो ।
“कार्यकारी परिषद्को बैठकले कपनको जग्गा लिने निर्णय गरेको देखिन्छ तर जग्गा कहाँ कुन अवस्थामा छ भन्ने कतै भेटिँदैन,” समितिका सदस्य अधिकारीले भन्नुभयो, “कमसेकम कार्यकारी परिषद्ले निर्णय गरेर जग्गा लिने भएपछि त त्यतिबेलाका पदाधिकारीले जग्गा कहाँ कस्तो अवस्थामा छ भन्ने मात्रै पत्ता लगाएर राखिदिएको भए अहिले कुहिरोको काग झैँ रुमल्लिनु पर्दैनथ्यो ।”
कार्यकारी परिषद्ले २०४६ सालमा स्वीकार गर्ने निर्णय गरे पनि हेमराज पाण्डेले कुन मितिमा उक्त जग्गा दिने निर्णय गर्नुभएको थियो भन्ने मिति यकिन छैन । मालपोत कार्यालयबाट समेत कुनै निस्सा प्राप्त गर्न नसकेपछि जग्गा छानबिन समितिले पाण्डेको परिवारसँग सोधनी गर्ने तयारी गरेको छ । जग्गादाता पाण्डे बडागुरुज्यू केशरीराज पाण्डेका बुवा हुनुहुन्छ । अहिले बडागुरुज्यू केशरीराज पाण्डेको समेत निधन भइसकेको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                