• १० भदौ २०८१, सोमबार

शङ्कर ग्रुपको हिलटन होटलबाट नक्सालवासी फेरि पीडित

blog

काठमाडौँ, भदौ १० गते । निर्माणकै क्रममा नक्सालवासीलाई हैरानी दिएर पटक-पटक विवादमा तानिएको शङ्कर ग्रुपद्वारा निर्माण सम्पन्न भई अन्तर्राष्ट्रिय चेन होटल हिलटन नामबाट हालै सञ्चालनमा ल्याइएको सो होटलबाट फेरि स्थानीयवासीले चर्को पीडा बेहोरेका छन् । 

होटल सञ्चालनका नाममा अव्यवस्थितरुपमा प्रयोगमा ल्याइएका मेसीनरी तथा निकै पावरफुल जेनेरेटरबाट निस्कने चर्को आवाज र प्रदूषित धुवाँको उचित व्यवस्थापन नहुँदा स्थानीयवासी पीडित भएका हुन् । होटल वरपरका २६ पीडित घरवासीले आफू र आफ्नो परिवारको शान्ति र स्वस्थ जीवन होटलले खोसेको पिडादायी गुनासो गरेका छन् ।

पीडित उनीहरूले नक्सालस्थित काठमाडौँ महानगरपालिकाको वडा नम्बर–१ को कार्यालयलाई लिखित उजुरी गर्दै आफ्नो गुनासो पोखेका हुन् । गत असार २३ गते गरिएको उजुरीको दर्ता नम्बर १२० हो । वडा कार्यालयमा गरिएको उजुरीको बोधार्थ जिल्ला प्रशासन कार्यालय, पर्यटन विभाग र काठमाडौँ महानगरपालिकालाई पनि दिइएको छ ।

वडामा उजुरी गरिएपछि वडा अध्यक्ष, सचिव, महानगरीय प्रहरी लगायत कर्मचारीले स्थलगत निरीक्षण पनि गरेको तर, होटलबाट भएको लापरबाही अझैसम्म नसच्चिएको गुनासो पीडित पक्षको छ । 

मालिगाउँस्थित प्रहरी वृत्तका डिएसपीलाई पनि डाकेर आफ्नो पिडा स्थलगतरुपमै सुनाएको उनीहरूले बताए । हामीले उजुरबाजुर गर्‍यौँ, त्यो त झन् उनीहरूका लागि अनुचित आम्दानीको स्रोत पो बनेछ । हामीसँग हो तपाईंहरुमाथि हेपाहा प्रवृत्ति भएकै हो भन्ने अनि उता गएर त्यता पनि ठिक्क देखिने र दोहोरो नीति अपनाएको भन्दै वडाका कर्मचारी र प्रहरीसँग स्थानीयवासी असन्तुष्ट बनेका छन् ।

डेढ महिना भइसक्दा पनि हाम्रो समस्या ज्यूँकात्यूँ छ, हामीले दैनिक कस्तो समस्या भोगिरहेका छौँ भन्ने जिम्मेवार पक्षलाई स्थलगतरुपमै देखाइसक्दा पनि हामी पीडित २६ घरपरिवारले दिएको उजुरी उपर सुनुवाइ नहुनु दुर्भाग्य नै हो, पीडित पक्षको गुनासो छ ।

आफूहरूले भोग्दै आएको समस्याप्रति सरकारी निकायले आवश्यक चासो नदिएको तर्फ सङ्केत गर्दै पीडित पक्षले यसलाई सरकारी निकायको गम्भीर कमजोरीका रूपमा बुझेका छन् । 

‘‘के–के न गरेको देखाउन थर्मसमा चिया बेचेर जीविकोपार्जन गर्नेमाथि अमानवीय व्यवहार गर्ने, बिहान–बेलुकी हातमुख जोर्न सडक पेटीमा बसेर सानोतिनो व्यापार गर्नेमाथि धरपकड गर्ने महानगर प्रहरीले २६ घरपरिवारको याचना भने सुनेको नसुन्या, देखेको नदेख्यै गरिरहेको छ ।’’

पीडितले वडा कार्यालयमा गरेको उजुरीमा होटलमा प्रयोग हुने विभिन्न मेसिनरी तथा जेनेरेटरको आवाज र होटलको भान्सा तथा जेनेरेटरबाट आएको धुवाँलाई व्यवस्थित नगर्दा होटलको नजिकमा बसोबास गर्ने आफूहरूलाई ठुलो ध्वनि र दूषित बायुका कारणले गम्भीर असर पारेको भन्दै आफ्ना बालबच्चाको पढाइमा समेत असर पुगेको उल्लेख छ । 

त्यस्तै, आफ्ना वृद्ध-वृद्धा अभिभावकको स्वास्थ्यप्रति समेत चिन्ता थपिएको गुनासो गर्दै न्यूनतम शान्त, स्वच्छ र स्वास्थ्य वातावरणमा जीवनयापन गर्न पाउने संवैधानिक तथा कानुनी हकलाई समेत असर पार्ने गरी निर्माणाधीन होटल सञ्चालनमा ल्याइएकाले होटल व्यवस्थापनलाई कार्यालयमै उपस्थित गराई पीडित स्थानीयवासीको माग सम्बोधन गर्ने तर्फ पहल गरिदिन उजुरी मार्फत अनुरोध गरिएको छ ।

यसै विषयमा अब केही दिनमै मेयर बालेन साहलाई उनकै कार्यकक्षमा भेटेर आफ्नो समस्या बताउने र मिलेसम्म स्थलगत निरीक्षण पनि गर्न लगाउने पीडितहरूको तयारी छ । स्मरणीय छ, नक्सालस्थित हिलटन होटल व्यवस्थापनले होटल निर्माणका क्रममा जग खन्न थालेदेखि नै स्थानीयवासीका लागि राक्षसी प्रवृत्ति देखाउँदै आएको हो । 

थोरै क्षेत्रफलमा बनाउन लागिएको होटलले तारे होटलको मापदण्ड पूरा गर्न जग्गाको क्षेत्रफल बढाउनैका लागि वरपरका घर खरिद गर्न र घर जग्गा विक्री गर्न नमान्ने छिमेकीका घरको जगमुनीकै माटो खोसलीदिएर घरै चर्काइदिने सम्मको हर्कत देखाएको थियो भने निकै गहिरो खनिएको जगको माटो फाल्न तथा निर्माण सामाग्री ओसार्ने गर्दा रातैभरी चर्को आवाजले स्थानीयवासीले निकै पिडा भोग्नु परेको थियो । 

पटक,पटक त्यसो नगर्न महानगरपालिका, स्थानीय प्रहरीले समेत निर्माणकर्तालाई चेतावनी दिनु परेको थियो । लापरबाहीपूर्ण तरिकाले खनिएको गहिरो जगका कारण नक्सालको सडक नै आधा भासिँदा पनि शङ्कर ग्रुपमाथि खासै कारबाही भएन । 

राजधानी त्यसमा पनि नेपाल प्रहरीको मुख्यालयकै सुमान्य दिनहुँ स्थानीयवासीमाथि त्यत्रो अत्याचार भइरहँदा पनि सम्बन्धित पक्षले आवश्यक चासो नदिनुलाई धेरैले आर्थिक चलखेलका रूपमा बुझेका छन् । 

अहिलेलाई स्थानीयवासी पीडित भइरहेपनि नेपाल प्रहरीको मुख्यालयलाई नै सुरक्षा चुनौती पुग्नेगरी निर्माण गरिएको गगनचुम्बी होटलबाट भविष्यमा के–कस्तो समस्या वा अकल्पनीय क्षति स्वयम् नेपाल प्रहरीले बेहोर्नु पर्ने देखिन्छ ।