• १६ भदौ २०८१, आइतबार

सुर्खेत बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

blog

सुर्खेत बहुमुखी क्याम्पस ।

नविन सुवेदी

सुर्खेत, भदौ १० गते । सुर्खेत बहुमुखी क्याम्पस प्रमुखले सहमति विपरीत करार प्रक्रिया थालेको भन्दै प्राध्यापक सङ्गठनहरूले विरोध गरेका छन् । विभिन्न प्राध्यापक सङ्गठनहरूले ध्यानाकर्षण जनाउँदै निर्णय सच्याउन अनुरोध गरेका छन् । 

सरोकार पक्षसँगको सहमति विपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले अवैधानिक तवरबाट व्यवस्थापन सङ्कायका २ जनालाई मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रेका हुन् । 

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दीले पठनपाठनका साथै प्रशासनिक कामकाज पनि ठप्प भएको छ । व्यवस्थापन सङ्कायलाई मात्र करार गर्ने निर्णयलाई यथाशीघ्र रद्द गरी विभिन्न समयमा सरोकार पक्ष तथा आंशिक प्राध्यापक सङ्घसँग भएको सहमति पालना गर्न आंशिक प्राध्यापकहरूको माग छ । "हामी कुनै आंशिक प्राध्यापकहरूलाई करार गर्नुहुन्न भन्दैनौँ तर क्याम्पसमा लामो समयदेखि शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायमा प्राध्यापनरत आंशिक प्राध्यापकमध्येबाट आवश्यक भएका विषयहरूमा त्रिवि कार्यकारी र आंशिक प्राध्यापकहरूबिच भएको सहमतिअनुसार विज्ञापन गरी करार गर्नुपर्छ," पेसागत सङ्गठनद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । 

यसैबिच, नेपाल आंशिक प्राध्यापक सङ्घ क्याम्पस इकाई समितिले पनि विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमति उल्लङ्घन नगर्न क्याम्पस प्रमुखलाई चेतावनी दिएको छ । त्रिवि कार्यविधि विपरीतका उम्मेदवारहरूलाई विधि प्रक्रिया पूरा नगरी क्याम्पस प्रमुखले एकलौटी गरेको भन्दै सङ्घले आपत्ति जनाएको हो ।