• ९ भदौ २०८१, आइतबार

प्रदेश मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा

blog

बाँकेबाट निर्वाचित भएर लुम्बिनी प्रदेशका वन तथा वातारण मन्त्री बादशाह कुर्मी ।

सिराज खान 

नेपालगन्ज, भदौ ८ गते । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौँ तहसम्मका १२४ जना कर्मचारीको सरुवा गर्नुभएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेकाले सोही नीति बमोजिम अवधि पुगेका सबै कर्मचारीका सरुवा गरिएको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कर्मीले बताउनुभयो । 

उहाँले एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको बताउँदै कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्या पनि सिर्जना भइरहेको गुनासा आएको बताउनुभयो । 

मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन सरुवाको यो निर्णय गरेको मन्त्रालयले जनाएको छ । निर्णयबाट प्रभावित भएर अन्य मन्त्रालयले पनि दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गर्ने मन्त्रालयका कर्मचारीको भनाइ छ ।