• ११ मंसिर २०८१, मङ्गलबार

श्रममन्त्रीसँग कोइका र आइओएमका प्रतिनिधिको भेट

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का निर्देशक जोसफ समुएल एमियाह भेट गर्नु हुँदै ।

काठमाडौँ, भदौ ७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का निर्देशक जोसफ समुएल एमियाह र दक्षिण कोरिया (कोइका) का देशीय निर्देशक किम ह्युआङ क्युले छुट्टाछुट्टै भेट गर्नुभएको छ । श्रममन्त्री भण्डारीले बिहीबार मन्त्रालयमा आइओएमका निर्देशक जोसफ र कोइका नेपालका निर्देशक किमसँग भेट गर्नुभएको हो । 

भेटका अवसरमा श्रममन्त्री भण्डारीले श्रम मन्त्रालय र आइओएम, यसअघि भएका र हुन सक्ने समन्वय एवं सहकार्यका विषयमा छलफल गर्नुभयो । उहाँले नेपालबाट वैदेशिक रोजगारीमा गई काम गरिरहेका श्रमिकको हक अधिकार सुनिश्चित गर्नका लागि आइओएम जस्ता अन्तर्राष्ट्रिय संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले आइओएमका निर्देशक जोसफसमक्ष समस्यामा परेका नेपालीलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

आउँदा वर्षदेखि नेपाल सरकारले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा अनिवार्य सिप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्रै पठाउने विषयमा आन्तरिक तयारी गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । 

आइओएमका निर्देशक जोसफले सरकारको आप्रवासन नीति कार्यान्वयनमा आइओएम सधैँ सकारात्मक रहेको र वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यसैबिच श्रममन्त्री भण्डारीले निर्देशक किमसँग पनि भेट गर्नुभयो । सो अवसरमा उहाँले कोरियाबाट फर्केका नेपालीले सिकेको सिपलाई स्वदेशमै व्यवस्थापन गर्न सकिने गरी नेपालमा कार्यक्रम गर्न निर्देशक किमसमक्ष आग्रह गर्नुभयो । निर्देशक किमले मन्त्रालयले गरेको प्रस्तावका विषयमा आफू सकारात्मक भएको बताउनुभयो ।