• ११ मंसिर २०८१, मङ्गलबार

पृथ्वीराजमार्गको अवरोध आजै हटाइने

blog

डोजरको सहायतामा पन्छाइँदै व्यास नगरपालिका–१२ घाँसीकुवामा खसेको पहिरो। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ ६ गते। पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्डको अवरोध आज साँझबाट हटाइने भएको छ। अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा बुधबार खसेको पहिरोलाई पन्छाएर अवरोध हटाउन लागिएको हो।

 दुई तर्फीबाट हटाउने काम भइरहेको र आज साँझसम्ममा एकतर्फी सुचारु गर्ने गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो। 

पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएकोले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ। साना तथा मझौला सवारी साधनको लागि दमौली–घाँसीकुवा मार्ग अन्तर्गत तालघरे, दरै पँधेरा हुँदै घाँसीकुवाको प्रयोग गरिएको छ। 

यस्तै घाँसीकुवा हुँदै दमौलीको लागि घाँसीकुवा, पोल्याङ, रानीगाउँ हुँदै तालघरे  प्रयोग भइरहेको छ। ठुला सवारी साधनको लागि वैकल्पिक मार्गको रूपमा डुम्रे-वेशीशहर लमजुङ खण्ड सडक हुँदै पोखरा जाने मार्ग प्रयोग गर्नु  परेको छ।

बुधबार साँझ ५ बजे घाँसीकुवामा ठुलो पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो भने सोममाया गुरुङको बन्दै गरेको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोले बिजुलीको पोलमा क्षति पुगेको छ। पहिरो खसेपछि  यस राजमार्गमा यात्रा गर्नेले सास्ती भोग्नु परेको छ। पहिरो हटाउने काम मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले गरिरहेको छ।