तानसेन समाचारदाता
तानसेन, वैशाख १६ गते । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण पच्चिस दिनदेखि बन्द रहेका सामुदायिक विद्यालय खुल्न थालेका छन् । महासङ्घको आह्वानमा भएको काठमाडौँ केन्द्रित आन्दोलनका कारण २०८१ चैत तेस्रो सातादेखि बन्द भएका सामुदायिक विद्यालयले भर्ना अभियान र पठनपाठनको क्रियाकलापलाई अगाडि बढाउन थालेका छन् ।
पाल्पाका कतिपय विद्यालयले गत शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन गरेका छन् । यस्तै नतिजा प्रकाशन गरिसकेका विद्यालयले भने ग्रेड वृद्धि परीक्षा लिन सुरु गरेका छन् भने अधिकांश विद्यालयले भर्ना अभियान सुरु गरेका छन् । २५ दिनदेखि बन्द रहेका सामुदायिक विद्यालयले भर्ना अभियान, पाठ्यपुस्तक वितरण, घरदैलो अभियानसँगै आन्दोलनलाई पनि जारी राख्ने जनाएका छन् ।
शिक्षक महासङ्घका नेताले आफूहरूको माग सरकारले पूरा नगर्दासम्म आन्दोलन पनि जारी राख्ने र विद्यार्थी र अभिभावकको मर्कालाई बुझेर विद्यालय खोल्ने निर्णय गरिएको बताएका छन् । महासङ्घका जिल्ला अध्यक्ष कृष्ण थापाले विद्यालयका गतिविधि नियमित गर्ने र आन्दोलनलाई पनि सँगै लैजाने निर्णय भएको जानकारी दिनुभयो । थापाले शैक्षिक क्षेत्रमा पुगेको क्षति अन्य बेलामा पूरा गर्दै जाने बताउनुभयो ।
दमकडा माविका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले विद्यालय खुलेपछि विद्यार्थी र अभिभावक विद्यालयमा पुगेको र विद्यार्थी भर्ना भएर पाठ्यपुस्तक लिन थालेको जानकारी दिनुभयो । उहाँले आफूहरूले सुरुदेखि नै आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेको भए पनि महासङ्घले धेरै समयपछि मात्र निर्णय गरेर आन्दोलनको स्वरूप परिवर्तन गरेको बताउनुभयो ।
विद्यालय खुलेपछि अभिभावक र विद्यार्थीसमेत खुसी भएर विद्यालयमा आउन थालेका छन् । झन्डै एक महिनासम्म विद्यालय बन्द हुँदा अभिभावक र विद्यार्थी निराश भएका थिए । संस्थागत विद्यालयमा धमाधम पठनपाठन र भर्ना अभियान चलेका बेला सामुदायिक विद्यालय बन्द भएपछि केही सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीसमेत संस्थागत विद्यालयमा भर्ना हुन बाध्य भएका थिए ।
ग्रामीण क्षेत्रका अभिभावकसमेत शिक्षकको आन्दोलनका कारण निराश भएर बजारका संस्थागत विद्यालयमा छोराछोरी भर्ना गर्न ल्याएको अभिभावकको भनाइ छ । तानसेनका स्थानीय बासिन्दा सुमन गैरेले विगतका वर्षमा सामुदायिक र संस्थागत विद्यालयका बिचमा विद्यार्थी भर्ना गर्ने प्रतिस्पर्धा हुने गरेकोमा यो वर्ष संस्थागत विद्यालयलाई विद्यार्थी भर्नामा कुनै बाधा अवरोध नभएको बताउनुभयो । पछिल्लो समय संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्नका लागि आकर्षित भएका थिए तर यो वर्ष विद्यार्थी भर्ना गर्ने बेलामा आन्दोलनले विद्यालय बन्द भएपछि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास घटेको छ ।