राममणि दाहाल
हेटौँडा, भदौ ६ गते। हेटौँडा उपमहानगरपालिकाले नेपाली वैज्ञानिक महावीर पुनको आत्मकथामा आधारित पुस्तक खरिद गरी पुनको अभियानमा सहयोग गर्नुभएको छ ।
वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो जीवनीमा आधारित पुस्तक बिक्रीबाट सहयोग सङ्कलनका अभियान सञ्चालन गर्दै आउनुभएका पुनको पाँच लाख रुपियाँ बराबरको पुस्तक उपमहानगरले खरिद गर्ने भएको हो।
पुस्तक बिक्री गरी आर्थिक सङ्कलनको लागि देशव्यापी अभियानका क्रममा हेटौँडा आइपुग्नुभएका वैज्ञानिक पुनको अभियानमा सहयोग गर्न उपमहानगरपालिकाले पुस्तक खरिद गरिदिने प्रतिबद्धता जनाएको छ ।
पुस्तक बिक्री अभियानका क्रममा बिहीबार हेटौँडा उपमहानगरपालिका कार्यालय पुग्नुभएका पुनलाई स्वागत गर्दै उपमहानगर प्रमुख मिनाकुमारी लामाले स्वच्छ रूपमा सञ्चालन गरिएको अभियानमा उपमहानगरले साथ र सहयोग रहने बताउनुभयो।
वैज्ञानिक पुनले सरकारले काम लगाएर भुक्तानी नदिए पनि आफैले कृषि औजार कारखाना सञ्चालनको तयारी गरेको भन्दै भुक्तानी नदिएका कारण पुस्तक बिक्री अभियान सुरु गर्न बाध्यभएको सुनाउनुभयो।
कारखाना पूर्ण क्षमतामा आउँदा आयात हुने कृषि औजार प्रतिस्थापनमा सहयोग पुग्ने भन्दै देशभर पुस्तक बिक्री अभियानका क्रममा अहिलेसम्म एक लाख २५ हजार पुस्तक बिक्री गरिएको बताउनुभयो।बन्द रहेको कारखाना सञ्चालनका लागि पुनकै नेतृत्वमा मर्मत भइरहेको छ।
स्वागत कार्यक्रम उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले नगरले अभियानमा सहयोग गर्ने बताउनुभएको थियो।