• ७ भदौ २०८१, शुक्रबार

इलाममा ऐतिहासिक जात्राको रौनक

blog

जात्रामा अभिनय गर्दै कलाकारहरू । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ ६ गते । विभिन्न जातीय भेषभूषामा सजिएर आएका युवायुवती, बालबालिकाले आज बिहानैदेखि इलाम सदरमुकामस्थित चोक गल्लीमा ऐतिहासिक बिहीबारे जात्रा मनाएका छन् ।

जिल्लाको गाउँ–गाउँबाट बिहीबारे हाट भर्न बजार आउनेको घुइँचो छ । पञ्चैवाजाको तालमा विभिन्न भेषमा सजिएका युवायुवतीको सामूहिक नाचले सदरमुकामको रौनक बेग्लै बनाएको छ । ठुलो सङ्ख्यामा बाउसे, रोपाहार, गोरु, हली अनि साथमा रोपाइँको अभिनय गर्ने महिलाको समूह प्रदर्शनमा उत्रेको छ ।   

जनैपूर्णिमा अनि गाईजात्रापछिको बिहीबारे हाटका दिनलाई इलामेहरूले हरेक वर्ष चाडका रूपमा  मनाउ“छन् । नेवार समुदायले विशेषगरी मनाउने जात्रामा नेवार मात्र नभई, ब्राह्मण, क्षेत्री, राई, लिम्बू, तामाङ, गुरुङ, मगर आदि समुदायको पनि त्यत्तिकै सहभागिता रहन्छ । 

करिब सय वर्षदेखि पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा लगायतका जिल्लामा यो जात्रा मनाइने गरेको इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा  इतिहासकार युद्धप्रसाद वैद्यले बताउनुभयो । ‘यो जात्राको नेवारी समुदायमा मात्र नभई अन्य समुदायमा पनि त्यत्तिकै महत्त्व छ । 


‘जातीय र सांस्कृतिक सद्भाव बलियो बनाउने अवसर पनि यही जात्रालाई लिने गरिन्छ’ वैद्यले भन्नुभयो ‘यो पूर्वको महत्त्वपूर्ण र पुरानो संस्कृति हो ।’ नेपाल भाषा तथा संस्कृति समाज इलामले प्रत्येक वर्ष जात्राको आयोजना गर्दैआएको छ । समाजका ७०–८० जना कलाकारले रोपाइँको अभिनय गर्ने गर्छन् । जात्रामा विभिन्न किसिमबाट सङ्कलित रकम विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक संस्थाले जनाएको छ । 

जात्रा हेर्न इलामलगायत, पाँचथर, झापा, ताप्लेजुङ र भारतको दार्जिलिङ, सिक्किम, गान्तोकबाट आउने गरेको स्थानीयको भनाइ छ ।